इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

4.88K
shares

काएरो । इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । उक्त कुरा इजिप्टको सेनाले मङ्गलबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । “सिनाइ द्वीपका उत्तरी तथा मध्य क्षेत्रका सुख्खा क्षेत्रमा सेनाले चलाएको आतङ्कवाद विरोधी कारबाहीमा कम्तिमा १५ जना कुख्यात आतङ्कवादी मारिएका छन्,” सेनाका प्रवक्ता टामेर अल रेफाइले भने ।

सेनाको दोस्रो तथा तेस्रो स्थल शिविर क्षेत्रमा भएका कारबाहीमा विस्फोटक पदार्थ र हतियारले सुसज्जित अन्य ४४ जना आतङ्कवादीलाई मारिएका छन् । उक्त क्रममा सेनाका एक अधिकृत तथा अन्य छ सिपाहीको पनि मृत्यु भएको सेनाले बताएको छ । उक्त सुरक्षा कारबाहीका क्रममा सेनाले १४२ जना लडाकूलाई नियन्त्रणमा लिएको, ५६ गाडी तथा दुई हतियार भण्डार नष्ट गरिएका बताइएको छ।

विद्रोहीद्वारा सेनालाई लक्षित गरी राखिएका २४२ विस्फोटक वस्तुलाई सुरक्षित रूपमा नष्ट गरेको सेनाले बताएको छ । इजिप्टमा इश्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई आन्दोलनको भरमा सन् २०१३ मा पदच्युत गरिएपछि उनको स्थानमा आएको नेतृत्वले मोर्सीका समर्थक तथा इश्लामिक आतङ्कवादी समूहसँग पटकपटक सङ्घर्ष गरिरहनु परेको छ ।

सिनाइ क्षेत्र इजिप्टको विद्रोही पक्षको राम्रो पकड भएको स्थान हो । उक्त क्षेत्रमा इजिप्टको इश्लामिक स्टेट समूह समर्थकहरूको प्रभाव क्षेत्र हो । सिनाइमा मात्रै सन् २०१८ को फेब्रुअरीपछि भएका झडपमा परी ८०० लडाकू तथा ३० सैनिकको मृत्यु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083