इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

4.85K
shares

इन्डोनेसिया । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ। इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण वर्षापछि आएको बाढी पहिरोको कारण हजारौँ व्यक्ति विस्थापित र घरवारविहीन भएका छन्।

बाढी पहिरोका कारण अझै २५ जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन्। यस प्रकारको भीषण प्रकोप आफूले कहिल्यै नदेखेको सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग प्रमुखले बताए। इन्डोनेसियाको दक्षिणी भागमा पर्ने ११ ओटा जिल्लाका केही नदी समेत पहिरोले थुनिएका कारण गाउँतर्फ सोझिएको पानीले हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन्।

प्रकोप नियन्त्रण निकाय प्रमुखले सुलावेसी द्वीपको गोवा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको बताए। यस जिल्लामा मात्र ४४ जनाको मृत्यु भएको छ। बिहीबार साँझसम्म यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३० पुगेको थियो। वेपत्ता व्यक्तिहरुको शब भेटिएको र थप केही व्यक्तिको मृत्युपछि शुक्रबार बिहानसम्म यो संख्या ५९ पुगेको बताइएको छ। साथै दर्जनौँ व्यक्ति घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ।

प्रकोपका कारण विस्थापित भएका करिब ३ हजार ४०० व्यक्तिलाई विद्यालय, मस्जिद र टेन्टहरुमा राखिएको छ। यस बाढीका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ। गतवर्ष इन्डोनेसियको सुमात्रा द्वीपमा आएको बाढी पहिरो कारण कम्तीमा २२ जनाको मृत्यु भएको थियो।

इन्डोनेसियामा बाढी, पहिरो र ज्वालामुखी विस्फोट जस्ता प्राकृतिक प्रकोपले बारम्बार सताउने गरेको छ। गत डिसेम्बरमा आएको ज्वालामुखीका कारण ४०० भन्दा बढीको मृत्यु भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083