भारतमा ‘कराची बेकरी’ को नामलाई लिएर विरोध, पाकिस्तानी नागरिकलाई भारत छाड्न दबाब
वि.सं.२०७५ फागुन १२ आइतवार १२:२४
shares

बैंगलोर। भारतको बैंगलोरमा रहेको एक बेकरी पसलको नामले विवाद उत्पन्न भएको छ। फेब्रुअरी १४ मा भारतको जम्मू काश्मिर स्थित पुलवामामा आक्रमण भएपछि भारतभर पाकिस्तान विरोधी गतिविधि भइरहेको बेला पाकिस्तानी शहरको नाम ‘कराची’ रहेको ‘कराची बेकरी’ को नामलाई लिएर केही समूहले विरोध प्रदर्शन गरेका थिए।
बेकरी बाहिर धेरै संख्यामा मानिसहरु जम्मा भएर बेकरीको बोर्ड हटाउन माग गरेका थिए। विरोध चर्किदै गएपछि बेकरीको साइन बोर्डमा लेखिएको ‘कराची’ शब्दलाई त्यहाँका कर्मचारीहरुले कपडाले छोपेका थिए। यस्तै बेकरीमा भारतको झण्डा समेत राख्नु परेको थियो। विरोध प्रदर्शन गरेकाहरुले भने बोर्ड नै हटाउन माग गरेका छन्।
सामाजिक संजालमा पाकिस्तानी शहरको नाम गरेको बेकरीलाई बन्द गराउन माग भइरहेको बताइएको छ।
Just heard: A crowd threatens to pull down the signboard of the iconic Karachi Bakery outlet in Indira Nagar, Bangalore.
— Rajaneesh (@vilakudy) February 22, 2019
भारत र पाकिस्तान विभाजित भएपछि भारत आएका सिंधी व्यक्ति खानचंद रामनामीले १९४७ मा सो बेकरी संचालनमा ल्याएका थिए।
कराचीबाट हैदराबाद आएकाले रामनामीले आफ्नो बेकरीको नाममा पनि ‘कराची’ राखेको जनाइएको छ। भारतका विभिन्न शहरहरुमा रहेका सो बेकरीका शाखाहरुमा ‘कराची’ शब्दलाई लिए धम्की आइरहेको बताइएको छ। फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमणमा ४२ सुरक्षाकर्मीको मृत्यु हुने भएको थियो। आक्रमणपछि भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ।
भारतले आक्रमणमा पाकिस्तानी अलगावादी संगठनहरु जिम्मेवार रहेको बताउँदै आएको छ। पुलवामामा आक्रमण पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको नेतृत्वमा भएको भन्दै भारतले पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएको छ। तर पाकिस्तानले भने भारतले लगाएको आरोप अस्विकार गर्दै प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताएको छ।
यसैबीच भारतभरी पाकिस्तान र काश्मिर विरोधी घटनाहरु भइरहेका छन्। भारतमा रहेका पाकिस्तानीहरु प्रति लक्षित आक्रमणका घटनाहरु भइरहेको संचारमाध्यमले जनाएका छन्। भारतको राजस्थानको बीकानेरमा पाकिस्तानी नागरिकलाई जिल्ला छोडेर जान सार्वजनिक सूचना नै जारी गरिएको थियो।































