काँग्रेसमा देउवाको प्रयास असफल : बहुमतको निर्णय मान्य नहुने पौडेलको चेतावनी
वि.सं.२०७५ फागुन १२ आइतवार १२:०९
shares

काठमाडौँ । काँग्रेसलाई महासमिति बैठकले पारित गरेका केही प्रावधानहरुमा सहमति जुटाउन सकस परेपछि बहुमतबाट विधान अनुमोदनको तयारी भएको छ। सहमति जुटाउन सभापति देउवाले शनिबार गरेको प्रयास समेत सफल हुन नसके पछि अन्ततः बहुमतकै आधारमा विधान अनुमोदन हुने भएको हो।
महासमितिले पारित गरेका विषयहरु केन्द्रीय समितिले अनुमोदन गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा नेताहरु बीच मत बाझिँदा पार्टी विधान बहुमतका आधारमा अनुमोदन गर्ने तयारी संस्थापन पक्षको छ।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलापक्ष संस्थापन पक्षको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोध गर्ने तयारीमा लागेको बुझिएको छ। महासमितिका दस्तावेजलाई अन्तिम रुप दिन आज काँग्रेस केन्द्रीय समिति बैठक दिउँसो बोलाइएको छ। गत बिहीबार बोलाइएको बैठक नेताहरुबीच विवाद हुँदा सहमति जुटाउने भन्दै आइतबारलाई सारिएको थियो।
‘सभापतिजीले महासमितिमै प्रतिवद्धता जनाएको विषयबाट पछि हटेर बहुमतका आधारमा अघि बढ्न खोज्दै हुनुहुन्छ। हामीलाई त्यो मान्य छैन। यदि बहुमतकै आधारमा निर्णय गर्ने हो भने किन अरु प्रकृयाहरुमा जानु ?,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार विहान भने, ‘उहाँको यस्तो तरिकाले पार्टीलाई हित गर्दैन र स्वयम् सभापतिलाई पनि।’
गत पुसमा सम्पन्न महासमिति बैठककमा जिल्ला सभापतिहरुले अघि सारेको माग केन्द्रीय समितिमा रहेका नेताहरु महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने विषय समावेश गरिएको थियो।
आजको बैठकमा पार्टी विधान सर्वसम्मत रुपमा अनुमोदन गर्न प्रयास हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। त्यस्तै शर्माले महासमितबाट पारित दस्तावेजहरुलाई टुङग्याउने बैठककको एजेण्डा भएकाले अन्य विषयमा आज छलफल नहुने बताए। काँग्रेसमा आन्तरिक नियमावली बनाउन कमिटी गठनका विषय र नेविसंघको तदर्थ समिति बनाउने विषयमा पनि विवाद छ।
उता, सिटौला पक्षका केन्द्रीय सदस्य प्रदीप पौडेलले बहुमतका आधारमा नभई सहमतिकै आधारमा विधान अनुमोदन गर्नुपर्ने बताए। काँग्रेस स्रोतका अनुसार सभापति देउवा पक्षकै नेताहरु विधान सर्वसम्मत या बहुमत कुन प्रकृयाबाट पारित गर्ने भन्नेमा विवादीत छन्।
यता, विधान मस्यौदा समितिका संयोजक पूर्ण बहादुर खड्काले तत्कालका लागि यो विषय नै थाति राखेर अघि बढ्ने मध्यमार्गी प्रस्ताव गरेकाले आजको बैठकमा यसबारे समेत छलफल हुन सक्ने नेताहरुले बताएका छन्।














