काठमाडौंको सवारी व्यवस्थापन : सार्वजनिकलाई भरपर्दो बनाएर निजीलाई निरुत्साहन

२०७५ कात्तिक २० मंगलवार
1.6K
shares
काठमाडौं । राष्ट्रिय समाचार समितिबाट प्रक्षेपित, आइतवार गोरखापत्रमा छापिएको जानकारी अनुसार नेपालमा गुड्ने मोटर वाहनहरूको संख्या ३२ लाख नाघेको छ । यसमध्ये १० लाखभन्दा बढी काठमाडौं उपत्यकामा छन् । सोही दिन बिहान एक निजी टेलिभिजन प्रसारणले ३२ लाखमध्ये २५ लाख त दुइपाङ्ग्रे वाहन (मोटरसाइकल) नै भएको आँकडा दिएको थियो ।
चर्चामा आएका सूचनाले दुई पाङ्ग्रे र चारपाङ्ग्रे मात्र होइन बस,ट्रक,टिप्पर र एक्स्क्याभेटर समेतका गह्रौं मोटर वाहनहरूको आयात तथा दर्ता चालू रहेको पनि बताउँछन् । अर्को शब्दमा, यात्रुवाहक र मालवाहक वाहनहरूको संख्या निरन्तर बढिरहेको छ । तर देशमा उपलब्ध सडकको लम्बाइ र चौडाइ सीमित भएको हुनाले सडकमा सवारी साधनहरूको चाप थेगेर नसकिने भैसकेको छ ।
अन्यत्रबाट उपत्यकामा आवतजावत गर्ने सवारीसाधन थपिँदा राजधानीको व्यवस्थापन अझ चुनौतीपूर्ण भएको सरोकारवाला प्रहरी एकाइका वरिष्ठ अधिकृत वसन्तकुमार पन्तको कथन छ । यहाँका सडकहरूमा भुक्तभोगीहरूमध्ये पनि बटुवा कति असुरक्षित छन् त्यो दिनदिनै देखिइरहेको छ । हालै कीर्तिपुरको सडकमा खाल्डोमा खसेर साइकलचढीको ज्यान गएको घटनाले उपलब्ध सडक सञ्जालको अवस्थाको झलक दिन्छ ।
राजधानी शहर रहेको उपत्यकाका सडक त असुरक्षित र अपर्याप्त छन् भने मोफसलमा के हालत होला ? हिजै मात्र डोल्पामा भएको जीप दुर्घटना हुँदा १० नेपालीको ज्यान गएको दुःखद समाचार आज मङ्गलवारका अखवारहरूमा छापिएको छ । बस र अन्य सवारी साधनहरूको दुर्घटनाका समाचार दिनहुँ आइरहँदा जनसाधारणमध्ये कतिपयले आफन्त गुमाउनुपरेको हुन्छ भने कसैले अपाङ्ग अवस्था बेहोर्नुपर्दछ ।
समाचारले आम जनतामै असुरक्षाको स्थिति महसूस गराउँछ जसको परिणति छुट्टै मूल्याङ्कनको विषय हो । सडक दुर्घटनाका कारक र कारण भत्केका सडक, बिग्रेका पुल, थोत्रा वाहन, चालकको लापरवाही आदि भएको तथ्य जग(जाहेर छ । तसर्थ यी पक्षको सम्बोधन र दुर्घटनाहरूको छानबीन नियमित प्रक्रियाभित्र परिदिए मात्र पनि एकतहको गुनासोको समाधान निस्कने थियो ।
पटके निर्णय र हचुवा नीतिले समस्याको दिगो समाधान निस्कन सक्दैन । यसमा सडक, व्यवस्थापन, निर्माण, लगायतका सबै पक्ष समेटिने गरी परिवहन सम्बन्धी एकीकृत गुरुयोजना तर्जुमा गरी त्यसलाई कडाइका साथ लागू गर्नु आवश्यक छ । सडकसंख्या र लम्बाइ थोरै मात्र थपिने तर मोटर वाहनहरूको गन्ती धेरै गुणाले बढ्ने अहिलेको बेथिति जतिसकेको छिटो समाप्त हुनैपर्छ ।

२०७५ कात्तिक २० मंगलवार