तराईं-पहाड जोड्दै छठ, राष्ट्र प्रमुखदेखि शीर्ष नेतासम्मको शुभकामना

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०७:४२
shares

काठमाडौं । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।
तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ ।
छठले नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गरोस्ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
समृद्ध नेपाल निर्माणमा प्रेरणा देओस्ः उपराष्ट्रपति
यसै अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
उपराष्ट्रपतिले सन्देशमा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छठले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सामाजिक र पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने बताउनुभएको छ ।
सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई शुभकामना सन्देश दिँदै छठले एकापसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ । छठबाट सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पूरा गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ : प्रम अोली
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरूपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ ।
प्रधानमन्त्रीले छठ पर्वबाट हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटामा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीलेसमृद्धि र विकासका लागि शुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइलाई गोलबद्ध हुन आग्रह पनि गर्नुभएको छ ।
पृथ्वीमा उर्जाको सबैभन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त छ”, शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले आफूले नेतृत्व सम्हालेदेखि नै मुलुकलाई गरिबीको दुश्चक्रबाट मुक्त गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
लोकतन्त्रको सम्वद्र्धन र संरक्षणमा सबैको एकता आवश्यक छः देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘छठ पर्व’ का अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् । तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्वाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र ‘छठ पर्व’को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबै चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
मुलुकलाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ । लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्रको सम्वद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ”, उहाँको शुभकामना सन्देशमा भनिएको छ, “छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा मिलोस् ।