काठमाडौँमा आजदेखि चालकलाई अनिवार्य सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

6.6K
shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए। माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए।

महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए।

महासङ्घका महासचिव सरोज सिटौलाले ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए। “ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ,” उनले भने।

अहिले काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था गरेपछि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गरिने उनको भनाइ छ। महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो। सोही अनुसार हाल उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083