शून्य भन्सारमा नेपाली तयारी पोशाक उपलब्ध गराउन अमेरिका सकारात्मक

२०७५ मंसिर ५ बुधवार
945
shares
काठमाडौँ । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्मा) शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ। नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता (टिफा)अन्तर्गत नेपाल र अमेरिकाबीचको एकमात्र द्विपक्षीय स्थायी संयन्त्रको गत कात्तिक २७ गते सम्पन्न चौथो बैठकमा नेपालले शून्य भन्सारको सुविधा प्राप्त गर्ने ७७ वटा वस्तुको सूचीमा तयारी पोशाकलाई समावेश गर्न आग्रह गरेको थियो। उनले भने, “हाम्रो प्रस्तावलाई अमेरिकाले सकारात्मक रुपमा लिएको छ।
युएसटिआरले कङ्ग्रेसलाई पेश गर्ने प्रतिवेदनमा नेपाली रेडिमेड गार्मेन्टस्लाई शून्य भन्सार सुविधा उपलब्ध गराउने विषय उल्लेख गरेर पठाउने समझदारी भएको छ। अमेरिकीमा कुनै पनि वस्तुमा सहुलियत दिनुपर्ने खण्डमा कानुनमार्फत दिनुपर्ने प्रावधान छ। अमेरिकी कानुनको मस्यौदा र अनुमोदन कङ्ग्रेसभित्रबाट मात्रै हुन्छ। नेपालमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिका लागि अमेरिकी लगानीको उचित वातावरण बनेको विषयलाई बैठकका क्रममा उठाइएको जानकारी दिँदै सचिव घिमिरेले नेपालमा लगानी बढाउने विषयमा अमेरिकाले चासो व्यक्त गरेको बताए।
उनले व्यापार सहजीकरण सम्झौताको कार्यान्वयन, कृषि क्षेत्रको व्यावसायिकीकरण, बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार र ‘डिजिटल ट्रेड’सँग सम्बन्धित भएकाले अमेरिकाको चासो रहेको बताए। उनले भने, “नेपालमा लगानी गर्ने सन्दर्भमा अमेरिकाले नीतिगत सुधारको पक्षमा जोड दिएको छ। हामीले नीतिगत सुधार गरी बढीभन्दा बढी विदेशी लगानी भित्र्याउनु वर्तमान सरकारको मुख्य कार्यसूची भएको जानकारी गरायौँ, ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा तय गरेको सरकार नीतिगत सुधारमा केन्द्रित भएको र अन्तर्राष्ट्रिय समुदायसँग निकटमा रहेर काम गर्ने बतायौँ।
शून्य भन्सार सुविधाबाट अधिकतम् लाभ हासिल गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा विज्ञ र सरोकारवालाको सहभागितामा राष्ट्रिय कार्ययोजना तयार गरिरहेको जानकारी दिँदै घिमिरेले अमेरिकाले व्यक्त गरेका चासो सम्बोधन हुने गरी जतिसक्दो चाँडो कार्ययोजना तर्जुमा गरिने बताए। रासस

२०७५ मंसिर ५ बुधवार