सरुवामा पैसा उठाउने मन्त्रीका पीए र आसेपासे, बदनाम भए महानिर्देशक
वि.सं.२०७५ मंसिर ५ बुधवार १६:३६
shares

काठमाडौं । समायोजन ऐन आउनै लागेको बेलामा स्वास्थ्य सेवा विभागले चौथो तहदेखि सातौं तहसम्मका २ हजार भन्दा बढी कर्मचारीको सरुवा गरेको छ । कात्तिक ३० गते राति गरिएको सरुवा अहिलेसम्म सार्वजनिक गरिएको छैन । गोप्य राखिएको छ । रिक्त ठाउँमा सरुवा गर्दा विवाद हुँदैनथ्यो ।
तर समायोजन ऐन छिट्टै आउन लागेको बेलामा २ हजार भन्दा बढी कर्मचारीको सरुवा गरेर विभागका महानिर्देशक डा। गुणराज लोहनी विवादमा तानिएका छन् । समायोजन ऐन नआउन्जेल नियमित सरुवा पनि रोकेको छ । तर स्वास्थ्य सेवा विभागले समायोजन ऐन नआउँदै हचुवाका भरमा सरुवा गरेको छ ।
डा। लोहनी आर्थिक मामिलामा स्वच्छ मानिन्थे । तर समायोजन ऐन आउन लागेको बेला हतार हतार गर्न दबाब दिने काम स्वास्थ्य मन्त्री उपेन्द्र यादवका पीए भवनाथ खतिवडा र बीचौलिया कृष्णकुमार राईले गरेको स्रोतले बताएको छ । ४ तहदेखि ७ तहका २ हजार भन्दा बढी सरुवामा करोडौं रकम उठाएको आरोप खतिवडा र राईमाथि छ । खतिवडा र राईले अहिले मन्त्री यादवको नाममा पैसा असुली गर्दैआएका छन् ।
कात्तिक ३० गते राति २ हजारको सरुवा गरिएको भन्ने हल्ला चले पनि अहिलेसम्म सूची सार्वजनिक गरिएको छैन । अहिले पनि सूची थप्ने काम भइरहेको छ । ४ हजार कर्मचारीले सरुवाका लागि निवेदन दिएका थिए । नेकपा निकट स्वास्थ्यकर्मीहरुको संगठनले समायोजन ऐन आउनै लागेको बेला ठूलो संख्यामा सरुवा गर्न फ्यालेर सरुवा नगर्न भन्दै महानिर्देशक समक्ष कात्तिक ३० गते नै ज्ञापनपत्र बुझाएको थियो । तर त्यो ज्ञापनपत्रलाई बेवास्ता गर्दै मन्त्रीका सल्लाहकार र पीएको दबाबमा सरुवा गरिएको छ ।
खतिवडा पूर्वमन्त्री दीपक बोहराका पालामा पनि पीए थिए । त्यतिबेला पनि उनले सरुवामा पैसा उठाएको आरोप लागेको थियो । अहिले उपेन्द्र यादवका पनि उनी नै भित्रिया भएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सचार केन्द्रका निर्देशक सुनील शर्मासँग सरुवा नगर्ने सर्तमा उनले मन्त्रीको नाममा पैसा लिएको आरोप छ । त्यतिमात्र होइन, शर्मालाई खतिवडाले आफ्नो घरको वाइफाई र टेलिफोनको बिलसमेत भुक्तानी गर्न लगाएको स्रोतले बताएको छ ।





















