अबदेखि कामदारलाई पेन्सन, उपदान र उपचार खर्चदेखि परिवारलाई राहतसम्मको व्यवस्था

4.39K
shares

काठमाडौं । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । यसले औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गरेको छ ।

सरकारले यो घोषणालाई ‘नयाँ युग’का रूपमा प्रचार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

कोषमा जम्मा हुने रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइदै छैन, कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रति परिवारका लागि पनि विभिन्न सुविधा घोषणा भएको छ । कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रति परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाको लागि खर्च गर्नेछ । सरकारले कामदारको समाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।

समाजिक सुरक्षा कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोष वापत र ८.३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ । यस अन्तरगत निवृत्तभरण योजना र अवकाश सुविधा योजना ल्याएएको छ ।