त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
वि.सं.२०७५ मंसिर ११ मंगलवार १६:४५
shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ। निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो।
टर्मिनल अघि सवारीको अस्तव्यस्ता देखिएको र यात्रुलाई असुविधाका साथै भीडभाडमा अवाञ्छित गतिविधि पनि हुनसक्ने भएकाले हामीले पार्किङ भवनमा सवारी पार्क गर्ने व्यवस्था गरेका हौं,” उनले भने, “नजिकिएको एशिया प्यासिफिक सम्मेलनलाई समेत मध्यनजर गर्दै सरोकार भएका निकायसँग छलफल गरेर पार्किङको नयाँ व्यवस्था गरिएको प्रवक्ता तिवारीको भनाई छ ।
यो व्यवस्थापछि सवारी साधनले अब विमानस्थलको गोल्डेन गेटबाट प्रवेश गरेर बाहिरिदा पार्किङ भवनको नयाँ गेट प्रयोग गर्नुपर्नेछ। यही मङ्सिर ९ गतेदखि विमानस्थलको माथिल्लो भागको पार्किङ ‘पार्किङ भवन’ मा सारेको हो। माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० वटा र कालो नम्बर प्लेट भएका १० वटा मात्रै ट्याक्सी हुन्छन्। बाँकी सम्पूर्ण ट्याक्सी भवनमा पार्किङ गरिनेछ। विशिष्ट र अतिविशिष्ठ पाहुनाको पार्किङ भने पहिलाकै स्थानमा हुनेछ।
एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ। त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सीमाथि उक्लिन्छ। निजी सवारी साधनले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्नेछ। यात्रुको सहजताका लागि पार्किङको समस्या भएका अन्य स्थलको पनि आन्तरिक व्यवस्थापनका लागि परेको विमानस्थलले जनाएको छ।






























