लेखा समितिद्धारा वाइडबडी खरिद प्रक्रियामा राय दिन अनुगमन कार्यालयलाई निर्देशन

4.9K
shares

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदको छानबिन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन भनेको हो । समितिले मंगलबारको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरेको थियो । त्यसक्रममा सांसदहरुले विमान खरिद प्रकरणमा कार्यालयको राय मागेका थिए ।

सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेकाले निगमले गरेका सार्वजनिक खरिदका धेरै कामबारे जानकारी नभएको बताएका थिए । सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए ।

कार्यालयका सचिव मधु रेग्मीले निश्चित समय दिए अनुगमन गरेर राय दिने बताए । लगत्तै समितिले सात दिनभित्र विमान खरिद प्रक्रियाको अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति भरत शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए । लेखा समितिले वाइडबडीमा स्वामित्व निगमको छ कि अरु कसैको भन्ने प्रश्न पनि गरेको थियो ।