दैलेख जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ४ पुग्यो (अपडेट)

वि.सं.२०७५ मंसिर १२ बुधवार १३:२३
shares

सुर्खेत । आज (बुधबार) बिहान दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जिप दुर्घटना हुँदा त्यसमा सवार ८ जना मध्ये चारजनाको मृत्यु भएको हो । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ का लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो ।
ठाँटीकाँध गाउँपालिका १ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही र ठाँटीकाँध–१ का ३० वर्षीय निर्मल बमको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही र ठाँटीकाँध–३ की ४६ वर्षीय रत्ना शाहीको उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा ठाँटीकाँध–१ का २८ वर्षीय समशेर बम, ३० वर्षीय युद्ध सूची, ठाँटीकाँध– ४ का दिलिप शाही र २८ वर्षीय मनिश राष्कोटी घाइते भएका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।