कलिङ भिसा लागेका कामदारलाई तत्काल मलेशिया पठाउन सरकारलाई सात दिने अल्टिमेटम

5.21K
shares

काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघले मलेशियाको कलिङ भिसा लागेका नेपाली श्रमिकलाई तत्काल मलेशिया पठाउन माग गर्दै सरकारलाई अल्टिमेटम दिएको छ।

गत कात्तिक १२ गते मलेशिया सरकार र नेपाल सरकारबीच नेपाली कामदार मलेशिया पठाउने सम्बन्धमा द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर गरेको एक महिनासम्म पनि नेपाली कामदार मलेशिया पठाउने प्रकृयामा सरकार मौन रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले कलिङ भिसा लागेका कामदारलाई मलेशिया पठाउन सरकारलाई सात दिने अल्टिमेटम दिएका हुन्।

द्विपक्षीय श्रम समझदारी पत्र (एमओयु) मा समझदारी तत्काल लागु हुने भनी उल्लेख भएपनि १ महिनासम्म कामदार पठाउन रोक लगाएको फुकुवा गर्न नसकेको बारे व्यावसायीहरुले आपत्ति जनाएका छन्। एमओयुमा हस्ताक्षर भए लगत्तै सम्झौतामा व्यवस्था भए अनुसारको संयुक्त कार्यदल (जइन्ट ओर्किङ कमिटी) ले २९ अक्टोबरमा पहिलो बैठक बसी कलिङ भिसा प्राप्त नेपाली कामदारलाई मलेशियामा काम गर्न जानलाई श्रम स्वीकृति दिन नेपाल र मलेशियाबीच सहमति भएपनि कामदार मलेशिया पठाउने प्रकृया अझै नखुलेकोले भन्दै व्यवसायीले आपत्ति जनाएका हुन्।

वैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष रोहण गुरुङले भने, ‘नेपाल सरकारले मलेसिया जाने नेपाली कामदारलाई अनावश्यक आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक्स, ओएससी, आइएससी लगायत प्रणाली खारेज नगरेसम्म नेपाली कामदार मलेशिया पठाउने कार्य स्थगित गरेपनि वर्तमान सन्दर्भमा घुमाउरो पाराले तीनै कम्पनी वा प्रणाली मार्फत नै नेपाली कामदार मलेशिया पठाउने गरी नेपाल सरकार र मलेशिया सरकारबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएकोले सरकारको यो कार्य आपत्तिजनक छ।’

उनका अनुसार कलिङ भिसा लागेका ९ हजारभन्दा बढी नेपाली श्रमिक मलेशिया जान पाएका छैनन्। द्विपक्षीय सरकारबीच भएको श्रमिकको हकहितका सम्बन्धमा श्रम समझदारीप्रति संघ सकारात्मक भएपनि म्यानपावर कम्पनीले नेपाली कामदार मलेशिया पठाए बापत पाउने सेवा सुविधाका विषयमा भने संघले विरोध गर्दै आएको थियो।

कलिङ भिसा भएका नेपाली कामदारहरुलाई मलेशिया रोजगारका पठाउनका लागि यही मंसिर १९ गते भित्रमा श्रम स्वीकृति खुल्ला गर्न वैदेशिक रोजगार व्यबसायी संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको हो। सरकारले मंसिर १९ गते भित्र नेपाली कामदारहरुलाई मलेशिया पठाउने व्यावसायीको माग मन्त्रालयबाट सुनुवाइ नभए कलिङ भिसा प्राप्त कामदारको भिसा स्ट्याम्पिङ गर्ने प्रकृया अगाडि बढाउने र व्यावसायीहरुले पूर्व तथा अन्तिम श्रमस्वीकृति पेशको काम म्यानपावरले गर्ने व्यवसायीले चेतावनी दिएका छन्।