नेपालले जलवायु परिवर्तनमा भूमिका कम तर अतिप्रभावित राष्ट्रहरूको पक्षमा आवाज उठाउने

4.76K
shares

काठमाडौं । नेपालले आगामी ३ डिसेम्बरबाट पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप) मा जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसको मारबाट बढी प्रभावित मुलुकको हितमा आफ्ना एजेण्डा अघि सार्ने भएको छ ।

नेपालजस्तै लजवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसबाट अतिप्रभावित तेश्रो विश्वका मुलुकको हितमा नेपालले विषय उठाउने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । कोपमा यो वर्ष नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा मन्त्री बस्नेतसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।

‘हामी कोपमा वातावरणीय परिवर्तनमा नगण्य भूमिका भएका तर त्यसको असरबाट अतिप्रभावित विश्वका अन्य मुलुकसँग कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारेको एजेण्डालाई छलफलमा लाँदैछौं’, संयुक्त राज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग डीएफआईडीको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनमा जसको बढी भूमिका छ, ती राष्ट्रहरू नेपालजस्ता समस्या सिर्जना गर्नमा कम भूमिका भएका वा भूमिकै नभएका मुलुकको हितमा गम्भीर बन्नुपर्छ ।

यस्तै खण्डवृष्टि तथा अतिवृष्टिजस्ता समस्या बढेकामा उनको चिन्ता थियो । नेपाल सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न योजना बनाएर कार्यान्यवनमा गएको भए पनि उक्त समस्या विश्वव्यापी भएकाले घरेलु समाधान मात्र पर्याप्त नहुने उनको भनाइ थियो ।