एसिया प्यासिफिक समिटको सुरक्षाका लागि राजधानीमा ३५ सय सुरक्षाकर्मी

वि.सं.२०७५ मंसिर १४ शुक्रवार ११:४६
shares

काठमाडौं । एसिया प्यासिफिक समिट आजदेखि काठमाडौंमा शुरु हुदैंछ । सोमबारसम्म चल्ने सो समिटमा सहभागी हुन विभिन्न ४५ देशका १५ सय पाहुना सहभागी हुदैंछन् । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा शान्ति, विकास, सुशासनलगायतका विषयमा पनि विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।
आज को को पाहुना आउँदैः
आज पनि विभिन्न देशका विशिष्ट पाहुनाहरू आउँदै छन्। उक्त समिटमा सहभागी हुन शुक्रबार न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति तथा पालाओ आइल्यान्डका राष्ट्र प्रमुख आउँदै छन्।
यसैगरी आजै पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पनि नेपाल आउँदै छन्। यसअघि म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार नै काठमाडौं आइसकेका छन्। उनीहरूलाई होटल सोल्टीमा राखिएको छ।
विदेशी पाहुनाको सुरक्षाका लागि उपत्यकामा करिब ३५ सय सुरक्षाकर्मी खटिएका छन्। चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गरेको छ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुने गृह मन्त्रालयले जनाएको छ ।