सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी

6.64K
shares

वीरगञ्ज । पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले ढुवानी खर्चसमेत गरी बढीमा प्रतिबोरा ७५० रुपैयाँभन्दा बढीमा बेचेको खण्डमा कार्यवाही गरिने चेतावनी दिँदै आइरहेका छन् ।

तर ग्रामीण क्षेत्रमा रहेका ती सहकारी संस्थाका सञ्चालकहरुले भने ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्ने भएकाले बाध्य भई बढी रकम लिनुपर्ने बताएका छन् । पर्सामा १११ वटा सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पुर्‍याउँदै आइरहेका छन ।

गहुँ खेतीकालागि अति आवश्यक पर्ने मल युरियाको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि पर्साका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई हप्तामा २६० बोरा युरिया डिएपी र पोटास मल दिने गरेको तथा ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाहरुले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।

सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता करणले किसान भारतीय मल किन्न बाध्य रहेका छन् । एउटा ट्र्याक्टरमा सय बोराभन्दा बढी लोड गरिएमा ट्राफिक प्रहरीले फाइन काट्ने, जथाभावी रकम लिने गरेकाले खर्च धान्न प्रतिबोरा रु ८०० मा युरिया मल बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् । तर क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाइने र बढी मूल्यमा अनुदानको मल बिक्री गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको बिक्री वितरण प्रमाणपत्र खारेज गरी कार्यवाही गरिने बताए ।

कम्पनीले पर्सामा आर्थिक वर्ष २०७५\७६ को चार महीनामा युरिया मल २६ हजार ४३७ मेट्रिक टन, डिएपी १३ हजार ३५१ मेट्रिक टन तथा पोटास ५४७ मेट्रिक टन बिक्री गरिसकेको छ भने कात्तिकमा युरिया ४८२ मेट्रिक टन, डिएपी ७११ मेट्रिक टन मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, त्रिशूली चितवनलगायत क्षेत्रमा रहेको २० हजार ११४ सहकारी संस्थामार्फत रासायनिक मल बिक्री गर्दै आइरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083