‘खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्छ’ : गृहमन्त्री बादल

5.11K
shares

काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने संकेत गरेका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले मुआब्जा तोक्दा निश्चित मापदण्डकै आधारमा तोकिएको भन्दै त्यहाँ वृद्धि गर्दा देशब्यापी रुपमा नै असर पर्ने बताएका हुन् ।

विभिन्न आयोजनाका लागि जग्गा अधिग्रहण गरिएको देशका धेरै ठाउँबाट मुआब्जा वृद्धिका लागि निवेदन आएको भन्दै मन्त्री थापाले खोकनाको लागिमात्र विशेष व्यवस्था गर्न नसकिने बताए । ‘गृहलाई समस्या के छ भने कि त मापदण्ड बदल्नुपर्‍यो, मापदण्ड अनुसार जाने हो भने मुआब्जा बढाउन त सकिदैन’ उनले भने ‘यो आयोजनामा मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमा संबोधन गर्नुपर्छ ।’

हाल निश्चित मापदण्डकै आधारमा मुआब्जा निर्धारण भइरहेको भन्दै उनले मुआब्जा वृद्धि गर्ने हो भने सरकारले नीतिगत व्यवस्था गरेर नयाँ मापदण्ड बनाउनुपर्ने जिकिर गरे । ‘नीतिगत रुपमा मापदण्डहरुलाई बदलेर मात्र मुआब्जा वृद्धि गर्न सकिन्छ, अन्यथा गर्न सक्ने स्थिति हुँदैन, मुआब्जा वृद्धि होस्, पुनर्विचार होसु् भनेर गृहमा यस्ता देशब्यापी रुपमा निवेदनहरु आएका छन् । यस्ता समस्या नीतिगत रुपमा नै विचार गरेर हल गर्न सकिएला’ उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083