इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

4.76K
shares

काठमाडौँ। नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ। केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६र१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ। लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार छन्। सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा छन्।

प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार रहेका छन्।

दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन्। घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन्। बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ। रासस