निर्मला हत्या प्रकरण : सेनाका १६ भाईलाई किन लुकाउँदैछ सरकार!
वि.सं.२०७५ मंसिर २८ शुक्रवार १४:५९
shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा गाई मारेको निहुँमा दुई समूहबीच दङ्गा भयो । २०७५ मङ्सिर १७ गते उत्तर प्रदेशमा उक्त दङ्गा नियन्त्रण गर्न पुगेका भारतीय प्रहरी इन्सपेक्टर सुबोध सिंह मारिए । उत्तर प्रदेशको बस्ती भन्ने ठाउँमा भएको इन्सपेक्टर हत्यामा भारतीय सेनामा कार्यरत एक जवान संलग्न भएको खुल्यो । ती जवानलाई भारतीय सेना आफैले नियन्त्रणमा लिएर उत्तर प्रदेश प्रहरीलाई बुझाइदियो ।
तर नेपालमा त्यस्तो हुँदैन । भारतीय सेनाले इन्सपेक्टर हत्यामा संलग्न आफ्नो जवान बुझाएको उदाहरणसँगै नेपालमा सङ्कटकालमा नेपाली सेना संलग्न भएको भनिएको दुईवटा हत्याकाण्डको उदाहरण हेरौं :
उदाहरण नम्बर १ : सङ्कटकालको समय थियो, जर्मनी र फ्रान्सेली दुई युवतीहरू नागार्जुनको जङ्गलमा गायव भएको खबर तत्कालीन हनुमानढोका प्रहरी कार्यालयमा आयो । अहिलेको महानगरीय अपराध महाशाखा र काठमाडौँ परिसरलाई त्यतिबेला बोलिचालीको भाषामा ‘हनुमानढोका प्रहरी’ भनिन्थ्यो । अनुसन्धानका लागि नेपाल प्रहरीले जर्मनी र फ्रान्सबाट कुकुरसमेत ल्याएर नागार्जुनको जङ्गल सर्च गरेको थियो ।
उदाहरण नम्बर २ : सङ्कटकालकै समय थियो । नगरकोटमा जात्रा चलिरहेको थियो । जात्रामा आएकी एक युवतीलाई तत्कालीन शाही सेनाका जवानले जिस्क्याए । स्थानीयले प्रतिवाद गरेपछि हुलदङ्गा सुरु भयो, नजिकै आर्मीको ब्यारेक थियो । सेनाका मान्छेहरू एसएमजी लिएर ब्यारेकबाट निस्किए । अन्धाधुन्द गोली चल्दा जुन युवतीको कारण विवाद भएको थियो । त्यही युवतीसहित अरू मानिसहरू पनि मारिए ।
नसुल्झिएको उक्त घटनाको फाइल अहिले पनि महानगरीय अपराध महाशाखामा छ । खोजे भेटिन्छ । तर घटनामा संलग्नहरूलाई ब्यारेकभित्र कारवाही भयो कि भएन, आम जनताले थाहै पाएनन् । अब साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रसङ्ग । भीमदत्त नगरपालिकास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनास्थलबाट केही मिनेटको दूरीमा नेपाली सेनाको ब्यारेक छ ।
त्यस दिन १६ जना सेना ‘आउट’ निस्किएका थिए
बम दिदी बहिनीको घर र निर्मलाको घरको दूरी दुई किलोमिटर छ । बमको घरबाट केही मिनेट बजारतर्फ लागेपछि नेपाली सेनाको ‘२५ नम्बर बाहिनी’ आउँछ । ‘२५ नम्बर बाहिनी’मा कार्यरत एक अधिकृतका अनुसार त्यस दिन (साउन १० गते) १६ जना सैन्य अधिकारीहरू ‘आउट’ गएका थिए । ड्युटी नहुँदा हाकिमको आदेशले रेकर्ड राखेर बाहिर निस्कने प्रक्रियालाई फौजीहरूले ‘आउट’ शब्द प्रयोग गर्छन् ।
निर्मला बलात्कार तथा हत्या प्रकरण अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले बनाएको जम्बो अनुसन्धान टोलीले अहिलेसम्म ती १६ जना सैन्य अधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । स्थानीय ड्रगिस्टहरू फेला पर्नासाथ डीएनए स्याम्पलका लागि रगतको नमुना सङ्कलन गर्ने प्रहरीले १६ जना सेनाका जवानहरूको नमुना सङ्कलन गर्न किन आनाकानी गरिरहेको छ ?
‘नेपाली सेनाका शङ्कास्पद जवानहरूमाथि किन अनुसन्धान गरिएन ?’ भन्ने रातोपाटीको जिज्ञासामा केन्द्रीय अनुसन्धान ब्युराको प्रमुख (डीआईजी) निरज शाहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी छ । निर्मलाको हत्या भएको तेस्रो दिन (साउन १३ गते) घटनास्थल पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अङ्गुर जिसी (निलम्बित) नेतृत्वको टोलीले नेपाली सेनाका केही शङ्कास्पद जवानहरूलाई सोधपुछ गरेको थियो ।
तर अहिले अनुसन्धान गरिरहेको टिमले त्यसतर्फ अनुसन्धान नै नगरेको बताइएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले शङ्कास्पद सैन्य अधिकारीहरूमाथि पनि अनुसन्धान जारी रहेको दाबी गरेका छन् । साउन १० गते बाहिरिएका १६ जनामध्ये तीन जना स्थानीय स्कुलमा बालबालिकाहरूलाई सिकाउन (इन्स्ट्रक्सन) गर्न गएको देखिएको ‘२५ नम्बर बाहिनी’ स्रोतले जनाएको छ ।
































