वैशाखदेखि बसहरु यातायात प्राधिकरणमा ल्याउने सरकारको तयारी

4.49K
shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकार सबै मोर्चामा सफल भएको दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सरकार गठन भएयता आवश्यक ऐन, कानुन, नियम र विधेयक बनाउन, र कर्मचारीको व्यवस्थापन गर्न दुई तिहाईभन्दा बढी समय खर्चिएको सुनाए। उनले भने, ‘यो सरकार गठन हुनुपूर्व मुलुक एकात्मक शासन व्यवस्थामा थियो।

साक्षात्कारमा बोल्दै उनले परराष्ट्र नीतिका सवालमा पनि वर्तमान सरकार सफल भएको दाबी गरे। ‘हामीले भारत र चीनसँगबाहेक संसारभरिका अन्य देशसँग पनि सम्बन्ध सुधार गरेका छौं’, उनले थपे। पार्टीका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सचेत गराउनको लागि र भविष्यमा दायाँ बायाँ नहोस भनेर नै आफ्नो असन्तुष्टि पोखेको उनको स्पष्टोक्ति थियो।

मन्त्री महासेठले भौतिक पूर्वाधार क्षेत्रमा पनि सरकारले धेरै फड्को मारेको दाबी गरे। उनले भने, ‘हामीले पूर्वाधार क्षेत्रको विकासमा पनि धेरै फड्का मारिसकेका छौं। तर, यो कुरा काठमाडौंमा बसेर हेर्न सकिँदैन्। हामीले पूर्वाधार क्षेत्रमा हाँसिल गरेका फड्काहरु मिडिया सामु ल्याउन सकेनौं। तर, यो क्षेत्रमा धेरै काम भैसकेका छन्। सडकहरु कालोपत्रे भएका छन्। दुई सयभन्दा बढि पुलहरु निर्माण गरेका छौं।’

त्यस्तै नयाँ नयाँ राजमार्ग निर्माणको कामहरु पनि थालनी गरिएको उनको जिकिर छ। उनले भने, ‘हामी आएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट स्तरोन्नती गर्दै चार लेन पुर्याउने निर्णय गर्यौं। र, अहिले दुई ठाउँबाट काम भैरहेको छ। बुटवलदेखि नारायणघाटसम्म काम भैरहेको छ। र, कमलादेखि कोशी व्यारेजसम्म अर्को महिनामा निर्माण फेज सुरु हुन्छ।’ आगामी एक वर्षदेखि पूरै महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नती गरिने उनले विश्वास दिलाए।

त्यस्तै, भूकम्पपछि बन्द भएको अरनिको राजमार्गपनि आगामी मे महिनाभित्रै सुचारु गर्ने उनले जनाए। उनले भने, ‘रसुवागढीदेखि स्याफ्रुबेसी मैलुङहुँदै टोखासम्मको सडकपनि हामी आगामी डेढ वर्षभित्रै सम्पन्न गर्न गैरहेका छौं।’ चीनसँगको कनेक्टिभिटीपनि जोडिन गैरहेको उनले सुनाए। उनले भने, ‘बेनी–जोमसोम कोरला राष्ट्रिय गौरवको योजना छ, त्यो पनि हाम्रो करिव करिब ५५ प्रतिशत काम सम्पन्न भैसकेको छ। बढीमा दुई वर्षभित्र सम्पन्न गर्न गैरहेका छौं।’

मदन भण्डारी राजमार्गको कामपनि युद्धस्तरमा भैरहेको उनले सुनाए। त्यस्तै मध्यपहाडी लोकमार्गको कामपनि ३५ प्रतिशत सम्पन्न भैसकेको मन्त्री महासेठले बताए। तराई–मधेशको लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्ग पनि आगामी चुनावसम्म त्यही राजमार्ग हुँदै भोट हाल्न जाने अवस्था सिर्जना गराउने उनले स्पष्ट पारे।

त्यस्तै उनले आगामी चार वर्षभित्रमा परिक्रमा रोड, रामायण सर्किटलगायत ८ हजार सडकहरु निर्माण गर्न गैरहेको बताए। उनले भने, ‘त्यो पनि ब्ल्याक टपहरु निर्माण गर्न गैरहेका छन्। त्यसको योजना बनाएर हामीले कामपनि सुरु गरिसकेका छौं। र यो काम हामी चार वर्षभन्दाअघि नै सम्पन्न गर्छौं।

हिजोसम्म सपना हो र हाम्रा प्रधानमन्त्रीले सपना देखाइरहनुभएको छ भनेर प्रचार गरिएको कुरा आज गलत सावित भएको उनको धारणा छ। उनले भने, ‘हामीले यो मन्त्रालयले यही डिसेम्बर १२ देखि नै रेल सञ्चालन गर्ने पक्षमा थियौं । हाम्रो सबै डकुमेन्टहरु मिलिसकेको थियो। तर, पछि हामीले सबलिजमा चलाउने होइन, नेपाल सरकारले आँफै किनेर रेलवे सञ्चालन गर्नेगरि हामीले दुई वटा रेल आँफै किन्ने भएका छौं।

यसको लागि सरकारले पनि स्विकृति दिईसकेको छ। र, अब किन्ने प्रक्रियाको अन्तिम चरणमा छौं। बढीमा तीन महिनाको समय भारतीय पक्षले दिएको छ। उहाँहरुको प्राइसपनि आइसकेको छ। त्यो मूल्य हामीले स्विकृतपनि गरिसकेका छौं।’ मन्त्री महासेठले आगामी अढाई महिनापछि आफ्नै लोगो भएको ट्रेन सञ्चालन गर्ने जनाए।

आगामी चार वर्षभित्र रेलमार्गबाट २८ सय किलोमिटरको रेलमार्गको सञ्जाल बनाउनेपनि उनले महत्वकांक्षी योजना सुनाए। उनले भने, ‘हामीले अहिले २२ सय किलोमिटरको डिपिआर तयार गरिसकेका छौं। करिब करिब अन्तिम फेजमा गैसकेका छौं।’

उनले सम्भवतः यही आर्थिक मसान्तभित्र काँकडभिट्टाबाट र लुम्बिनीबाट निजगढलाई जोड्न गैरहेको पनि सुनाए। महासेठले भने, ‘निजगढलाई जयनगर, जनकपुर बर्दिवासबाट जोड्छौं। अब बर्दिवासदेखि निजगढसम्म नेपाल सरकारले आफ्नै स्रोतबाट निर्माण काम थालिसकेको छ। र, ३५ प्रतिशत काम सम्पन्न पनि भैसकेको छ। २ सय ९ वटा त हामीले जनावर मार्ग निर्माणमध्ये एक सय १५ वटा त हामीले यसअघि नै सम्पन्न गरिसकेका छौं। पुलहरु हामीले धेरै निर्माण गरिसकेका छौं । अब हामीलाई टेण्डर गर्न केही पनि बाँकी छैन्।’

आगामी चुनावसम्म जनकपुरदेखि निजगढसम्म रेल चलाउने आफूहरुको योजना रहेको उनले सुनाए । त्यस्तै महासेठले निजगढबाट लुम्बिनी पूर्व काँकडभिट्टा र पश्चिमतिर धनगढीसम्म पनि चलाउने योजना रहेको बताए। चीन सरकारसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षले आफूलाई पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाइसकेको बताउँदै उनले भने,‘अब तीन महिनाभित्रमा डिपिआरको अन्तिम टुँगो लगाउनेगरि चीनको बेईजिङमा हाम्रो बैठक हुन गैरहेको छ। एउटा बैठक चीनमा र एउटा बैठक नेपालमा हुन्छ।

मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै भने, ‘कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरुबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो। तर, ढुक्क हुनुहोस हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौं। भारतलेपनि हामीलाई अहिले पोर्ट प्रयोग गर्न दिएको छ। भारतको झाखण्ड साहेबगञ्ज पोर्टपनि हामीले प्रयोग गर्न गैरहेका छौं।

काठमाडौं उपत्यकाभित्र आफूले सोचेअनुसार धुलो–धुँवा हटाउने काम नभएको उनले स्विकार गरे। यद्धपी उनले विगतभन्दा अहिले सुधार भएको जिकिर गरे। सडक निर्माण, पूर्वाधार विकास र सम्पदा पूर्ननिर्माणका कारण काठमाडौं उपत्यकामा धुलो, धुँवा भएको उनको भनाइ छ। तर, धुवाँ धुलो कम गर्नको लागि ब्रुमरको संख्या थप्न लागिएकोपनि उनले विश्वास दिलाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083