घरभाडाको रकम कट्टा गर्न सांसद भुसालको आग्रह
वि.सं.२०७५ पुस २ सोमवार ११:५१
shares

काठमाडौं। सांसद पम्फा भुसालले काठमाडौँ उपत्यकामा घर भएर भाडा लिएका सांसदको सूचीमा आफ्नो नाम परेकोमा आश्चर्य व्यक्त गरेकी छन्। ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भुसालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “उपत्यकामा घर भएर भाडा लिएका सांसदको सूचीमा मेरोसमेत नाम आएकामा म आश्चर्यमा परेको छु, संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ ।
राजनीतिलाई आफूले निष्ठापूर्वक गरिने सामाजिक सेवाका रुपमा लिएको र तदनुरुप चार दशकदेखि क्रियाशील भएको हुँदा आर्थिक अनुशासनका बारेमा आफूसँग जोडेर उठाइने प्रश्नले धेरै नै गम्भीर बनाएको उल्लेख गरेकी छन्।
विज्ञप्तिमा भनिएको छ, “संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी भएन, जानकारीपछि सचिवालयमा गएर सांसद हुँदा घरभाडावापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।
































