‘फौजदारी संहिता हिउँदे अधिवेशनमा संशोधन हुन्छ’ : मन्त्री ढकाल

5.67K
shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले फौजदारी संहितालाई संघीय संसदको आगामी हिउँदे अधिवेशनबाट संशोधन गरी समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गत भदौ १ गतेबाट कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति आलोचना भइरहँदा मन्त्री ढकालले त्यसलाई संशोधनको माध्यमबाट समृद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  उनले सो संहिताप्रति व्यक्ति र समाजका विभिन्न संघ, संस्थाले राखेको सरोकारलाई सम्बोधन हुने गरी सरकारले आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको पनि जानकारी दिए । बुधबार नेपाल कानुन समाजले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कानुनहरु कार्यान्वयनकै क्रममा संशोधन हुँदै जाने पनि स्पष्ट पारे ।

मन्त्री ढकालले सरकार कानुन निर्माणको चापमा रहेको बताउँदै संविधान अनुकूलका कानुन निर्माण गर्ने कामलाई सम्पन्न गर्ने योजनामा लागेको सुनाए । उनले कार्यान्वयनमा गएका कानुनको व्यवहारिक प्रयोजनको निष्कर्षबारे सरकारलाई जानकारी गराउन पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अपराधिक गतिविधिमा संलग्नहरुको पनि मौलिक हक मर्न नदिन राज्य सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् ।  महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनको काममा केन्द्रित हुन सम्बन्धित सबै निकायलाई आग्रह गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083