पर्यटकलाई बिरामी पारेर ठगी, उद्धारका नाममा विदेशी मुद्राको अवैध कारोबार !

5.1K
shares

काठमाडौं । विदेशी मुद्राको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनिवार्य अनुमति लिनुपर्ने भएपनि एक दर्जन संस्थाहरूले अनुमति नलिएरै विदेशी मुद्राको काराबोर गर्ने गरेको भेटिएको छ । नेपालमा ट्राभलरट्रेकिङ तथा रेस्क्युको व्यवसाय गरिरहेका एक दर्जन संस्थाले नेपाल राष्ट्र बैंकबाट अनुमति नलिएरै विदेशी मुद्राको कारोबार गर्ने गरेको भेटिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हिमालय रेस्क्यु सर्भिस प्राइभेट लिमिटेड, हिमालयन हेली चार्टर प्राइभेट लिमिटेड र स्यारोन सर्च एण्ड रेस्क्यु अर्गनाइजेसन नेपालले अनुमतिविनै विदेशी मुद्राको कारोबार गरिरहेका छन् । त्यस्तै फस्ट असिस्टेन्स रेस्क्यु कम्पनी, नेपाल रेस्क्यु एण्ड मेडिकल असिस्टेन्स, हिमालयन गाइड्स ट्रेक्स पनि विना अनुमति विदेशी मुद्राको कारोबारमा संलग्न रहेका छन् ।

त्यस्तै हिमालयन चार्टर प्राइभेट लिमिटेड, माउन्टेन रेस्क्यु सर्भिस प्राइभेट लिमिटेड, एडभेन्चर एसिया ट्राभल एण्ड एक्सपेन्डेसन प्राइभेट लिमिटेड पनि विना अनुमति विदेशी मुद्राको कारोवारमा संलग्न रहेका मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै माउन्टेन हेली चार्टर सर्भिस प्राइभेट लिमिटेड, इगल हेली चार्टर सर्भिस प्राइभेट लिमिटेड र आउटफिटर एड्भेन्चर्जले विदेशी मुद्राको कारोबार गर्दा नेपाल राष्ट्र बैंकको अनुमति लिएका छैनन् ।

पर्यटकलाई ठग्दै यसरी गर्छन् विदेशी मुद्राको कारोबार

विदेशबाट पर्यटक आउँदा पदयात्रा तथा पर्वतारोहणमा जाने गर्दछन् । पर्यटक नेपाल आउँदा आ–आफ्नो देशका बिमा कम्पनीहरूबाट ट्राभल इन्स्योरेन्स गरेर आउने गर्छन् । नेपाल आइपुगेपछि पर्वतारोहणमा जाने पर्यटकसँग नेपालका ट्राभल एजेन्सीहरूले गाइड सहित पर्वतारोहणमा पठाउने गर्छन् ।

पर्वतारोहण वा पदयात्राका क्रममा गाइडले पर्यटकलाई जानीजानी बिरामी पार्ने तथा हिमाली क्षेत्रमा लेक लाग्ने, हावा हुरी आउने, हिम पहिरो जाने लगायतका समस्याबाट पर्यटकमा स्वास्थ समस्या सिर्जना हुने गरेको मन्त्रालयको अध्ययनले देखाएको छ ।

पर्यटकमा स्वास्थ समस्या देखिएको अवस्थामा गाइडले ट्राभल कम्पनीलाई खबर गर्ने गर्छन् । सम्बन्धित ट्राभल कम्पनीले आफैं वा रेस्क्यु कम्पनी मार्फत् हेलिकप्टर कम्पनीसँग समन्वय गरी पर्यटकको उद्धार गर्छन् । यसरी बिरामीको उद्धार गर्दा रेस्क्यु कम्पनी र ट्राभल कम्पनीले बिमा रकम दाबी गर्ने गर्छन् ।

यसरी विभिन्न १० वटा हेलिकप्टर कम्पनीले सन् २०१५ जनवरी १ तारेखदेखि २०१८ मे ३० तारेखसम्म ७ हजार ५ सय ५६ उद्धार उडान गरेका छन् । यद्यपि हेलिकप्टर कम्पनीले सिधै बिमा दाबी गर्ने गरेका छैनन् । यसरी विदेशी मुद्रामै बिमा रकम दाबी गर्नेमा विभिन्न तीन दर्जन ट्राभल तथा रेस्क्यु कम्पनी रहेका छन् । तर माथि उल्लेख गरिएका एक दर्जन कम्पनीले विदेशी विनिमय कारोबारको अनुमित लिएका छैनन् ।

तीन दर्जन कम्पनीले विदेशी मुद्रा प्राप्त गरेपनि उक्त विदेशी मुद्रा के बापत प्राप्त भएको हो रु पठाउने निकाय को हो ? त्यसको कुनै पनि विवरण राष्ट्र बैंकले उल्लेख नराखेको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नियामक निकाय मौन

विदेशी मुद्राको कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिने गर्छ । अनुमति नलिएरै विदेशी मुद्राको कारोबार गर्ने निकायलाई राष्ट्र बैंकले नै कानुन अनुसार कारवाही गर्नुपर्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले विदेशी मुद्राको कारोबार गर्ने निकायहरूको विवरण राष्ट्र बैंकमा आइपुगेपछि कारवाही प्रक्रिया अगाडि बढाइने बताए । विदेशी मुद्राको कारोबार गर्ने ट्रेकिङ तथा ट्राभल एजेन्सीको विवरण राष्ट्र बैंकमा आइपुगेपछि आफूहरूले प्रहरी तथा पर्यटन विभागमा कारावाहीका लागि सिफारिस गर्ने बताए ।

‘विदेशी विनिमय कारोबार गर्ने ट्रेकिङ तथा ट्राभल एजेन्सीको जानकारी राष्ट्र बैंकमा आएपछि कारवाही प्रक्रिया अगाडि बढाउने हो,’ उनले भने, ‘अहिलेसम्म आइपुगेको मलाई थाहा छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083