अध्ययन विना सडक विस्तार गर्दा दुर्घटना बढेको निष्कर्ष
वि.सं.२०७५ पुस १६ सोमवार १५:३८
shares

काठमाडौं। सांसदहरुले अध्ययन विना नै सडक विस्तार र सवारी संचालनको अनुमति दिँदा सवारी दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सिहंदरबारमा सोमबार बसेको विकास समितिको बैठकमा समिति सदस्यहरुले विकासको नाममा अध्ययन विना नै सडक विस्तार गर्नाले दुर्घटनाको समस्या निम्तिएको बताएका हुन्।
ग्रामिण क्षेत्रमा जथाभावी सडक विस्तारको काम भइरहेको भन्दै उनीहरुले डोजर चालक नै इन्जिनियर बन्नु दुखद् भएको बताए। समिति सदस्य गणेश पहाडीले प्राविधिक मापदण्ड विना सडक निर्माण हुनु नै दुर्घटनाको मुख्य कारक रहेको भन्दै प्राविधि मापदण्ड विना सडक निर्माण गर्ने कार्यलाई दण्डनीय बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरे।
उनले सडक सुरक्षा अडिग गर्नुपर्ने माग गरे। त्यसैगरी समिति सदस्य आशाकुमारी विकले जथाभावी डोजरले डाँडा काट्ने गरेकाले सडक असुरक्षा बढाएको भन्दै विदेश भ्रमणलाई रोकेर सडक अनुगमनमा केन्द्रित हुन आग्रह गरे। अर्का सदस्य राजेन्द्र कुमार राईलेले मन्त्रीले भने अनुसार अझै यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य हुन नसकेकाले कुरा भन्दा कामको प्रभावकारितामा ध्यान दिन भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराए।
समिति सदस्य यज्ञ बहादुर सुनुवारले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको भन्दै जथाभावी सडक निर्माण र संचालनको अनुमति दिने काम रोक्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराए। समिति सदस्य गौरी शंकर चौधरीले २० वर्षे गाडी विस्थापित योजनाका कारण राजधानीबाट हटाइएका सवारी साधन ग्रामीण क्षेत्रमा संचालन भएका कारण दुर्घटनाको जोखिम बढाएको दाबी गरे।
उनले अव्यवस्थित ढंगले सवारी रोकेर यात्रु चढाउने, फुटपाथमा पार्किङ गर्ने मिटरमा चल्न नमान्ने ट्याक्सी चालकलाई कारवाही गरी यातायात क्षेत्रलाई व्यवस्थित गराउनुपर्ने माग गरे। समिति सदस्य टेक बहादुर बस्नेतले सडकको स्तरहीनताका कारण सवारी दुर्घटना बढेकाले समयमै सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए।





























