वैदेशिक लगानी भित्र्याउने पहल गर्न राजदुतहरुलाई परराष्ट्रको निर्देशन

6.14K
shares

काठमाडौँ । सरकारले आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन दिएको छ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दुतावासहरुलाई निर्देशन दिइएको जानकारी गराएका हुन्। सोमबार संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो सम्मेलनमा बाह्य लगानी भित्र्याउन उल्लेख्य सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गरे। सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ। त्यसका लागि विदेशस्थित नेपाली दुतावासहरुलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुतहरुको नियुक्ति संविधानसम्मत ढंगले अघि बढाइएको पनि बताए। उनले राजदुत फिर्ता गर्ने काममा सरकारले कहिँकतै राजनीतिक पूर्वाग्रह नराखेको दावी समेत गरे। परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तिमा उमेर हद तोक्ने विषयमा छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए। बैठकमा समितिका सदस्यहरुले राजदुत नियुक्ती समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सबै मुलुकहरुसँग मित्रवत कूटनीतिक सम्बन्ध विकास गर्ने नीति लिएको पनि स्पष्ट पारे।

नेपालले हालसम्म १ सय ६३ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध कायम राखेको छ। परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक सम्बन्धलाई पारदर्शी बनाउन सरकार सचेत रहेको पनि बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083