‘नेपालको विकास तिब्र नहुनुमा झन्जटिलो सिस्टम बाधक’

4.63K
shares

काठमाडौँ । जीवन एउटा संघर्ष हो । जीवनलाई सुखी र व्यवस्थित बनाउनका लागि जो कोहीले पनि संघर्ष गर्नुपर्छ। यति मात्र फरक हो की, कसैले धेरै त कसैले थोरै। पछिल्लो समय सुखी जीवनको कल्पना गरेर धेरै नेपालीहरु विदेशिएका छन्। विदेशमा गएर आफ्नो पसिना बगाइरहेका छन्।

विदेशमा रहेर सफलता हात पारेका नेपालीहरले आफ्नो कर्मसँगै जन्मभूमिको विकासका लागि पनि एकजुट हुन थालेका छन्। जसका लागि प्रवासीहरुकै बृहत्त संस्था एनआरएनले सबैलाई एउटै मालामा उनेर एकिकृत गरिरहेको छ। सार्क मुलुक बाहेक अन्य देशमा रहेका नेपाली नागरिक यस संस्थामा अटाएका छन्।

नेपाल बाहिरका नेपालीको प्रसिद्धी र विदेशमा रहेर पनि जन्मभूमिको विकासका लागि सक्दो टेवा दिनु नै एनआरएनको मूख्य काम बनेको छ। नेपालीहरुको बृहत्त संस्था एनआरएनका केन्द्रिय उपाध्यक्ष तथा समाजसेवी कुल आचार्यको जीवनीबारे आज हामीले खोतन्ने प्रयत्न गरेका छौँ।

पर्वतको विकट गाउँको मध्यम बर्गिय परिवारमा जन्मिएका आचार्य एनआरएनको ७ औँ विश्व सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन्। केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएपछि आचार्यले एनआरएनको तर्फबाट काठमाडौँको शंखमुल घाटमा निर्माण हुँदै गरेको पार्कको जिम्मा लिएर काम सम्पन्न गरे। जुन एनआरएनका पूर्व अध्यक्ष शेष घलेले आफ्नो कार्यकालमा सुरु गरेका थिए।

घलेको कार्यकाल सकिएपछि उक्त कामको जिम्मेवारी आचार्यलाई सम्पिएको थियो। करिब ३२ रोपनी जग्गामा झण्डै ३ करोड रुपैयाँ खर्च गरेर संघले पार्क निर्माण गरेको हो। यस परियोजनाको काम समयमै सकेर उपाध्यक्ष आचार्यले आफ्नो क्षमता देखाईसकेका छन्। अहिले नेपालकै नमुनाको रुपमा लिईने यो पार्क हेर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ। संघले केही समय अगाडि उक्त पार्क ललितपुर महानगरपालिकाको संरक्षण रहने गरी हस्तान्तर गरिसकेको छ।

पारिवारिक पृष्ठभूमी

पर्वतको धाइरिङ गाविस मा २०२९ सालमा बाबु धर्मनाथ उपाध्याय र आमा नन्दकला उपाध्याएको दोस्रो सन्तानका रुपमा पण्डित परिवारमा जन्मिएका कुल आचार्यले घरबाटै पहिलो शिक्षा लिए। त्यसपछि आफ्नै बाबुको प्रेरणाबाट उहाँले नै स्थापना गरेको तत्कालिन श्री कृष्ण निमावि विद्यालयबाट स्कुल यात्रा सुरु गरेको उनी बताउछन्।

उनले विद्याज्योति माविबाट एसएलसी उत्तिर्ण गरे। पढ्दा पढ्दै गाउँकै देउराली प्रा वि मा शिक्षक पेसा अंगालेका आचार्य ६ वर्षपछि उक्त जागिर छोडेर विदेशिएका थिए। आर्यायले आफ्नै बाबुले स्थापना गरेको विद्यालयलाई ठुलो धनराशी खर्च गरेर उहाँकै नाममा रुपान्तरण पनि गराएका छन्। उनले उक्त विद्यालयका अलवा कुस्मामा पाठशाला, गाउँमा मठमन्दिर, पार्टीपौवा जस्ता कल्याणकारी काममा पनि निकै योगदान पुर्याएका छन्।

नेपालका शिक्षक विदेशी रेस्टुरेन्टमा काम

गाउँमा विद्यार्थीका गुरु बनेका आचार्यलाई बेलायत पुगेपछि एक रेष्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो । बेलायतको होटलमा काम गर्न पाउँदा सबैभन्दा सुरक्षित भईन्छ भन्ने सुनेको मलाई भाँडा माझ्ने काम गर्न अप्ठ्यारो लागेन आचार्य भन्छन्। तर रेस्टुरेन्टमा काम गर्न सुरु गरेको ३ महिनामै उनले त्यस रेष्टुरेन्टमा बन्ने सबै प्रकारका खानाका आईटम बनाउन सक्ने भए ।

यसरी आफ्नो संघर्ष सुरु गरेका आचार्यका अहिले बेलायतमा मात्रै होलिकाउ नामका १० वटा होटल रेष्टुरेन्ट सञ्चालनमा छन्। आचार्य पछिल्लो समय व्यापार व्यवसाय सँगै विगत १२ वर्षदेखि एनआरएनएमा संलग्न रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन्।

१२ वर्षमा विवाह, एक वर्षपछि विदुर

आफ्ना बाबुको प्रस्तावमा आचार्यको बाल्यकालमै ९१२ वर्षको उमेरमा० विवाह भयो। तर दुर्भाग्य उनको वैवाहिक सम्बन्ध धेरै टिक्न पाएन्। उनी विवाह गरेको एक वर्षमै विदुर बने । उनले १३ वर्षकै उमेरमा पत्नी गुमाउनु पर्यो। पत्नीको वियोगको पीडा नसकिदै उनीमाथि अर्को बज्रपात पर्यो। उनले पत्नी वितेको २ वर्षपछि अर्थात १५ वर्षकै उमेरमा बाबुको पनि स्वर्गवास भयो। त्यसपछि उनीमाथि पीडासँगै घर र परिवारको जिम्मेवारी पनि थपियो।

आफूमाथि थपिएको जिम्मेवारी र घरको आर्थिक स्थितीले उनलाई झस्काउन थाल्यो। यसै क्रममा उनले २० वर्षको उमेरमा अहिलेकी श्रीमती सीता आचार्यसँग दोस्रो विवाह गरे। विवाह गरेको केही समयमै आफूमाथि थपिएको परिवारको जिम्मेवारी पूरा गर्न र घरको आर्थिक स्थिती मजबूत बनाउनकै लागि उनी विदेशिन बाध्य भए।

एनआरएनए यूकेको कार्यसमिति सदस्यदेखि केन्द्रिय उपाध्यक्षसम्म

आचार्य बिगत १२ वर्षदेखि एनआरएनएमा संलग्न रहेर काम गरिरहेका छन्। उनले सन् २००७ देखि ९ सम्म एनआरएन यूकेको साधारण सदस्य, २००९ देखि ११ सम्म एनआरएनए यूकेको उपाध्यक्ष, सन् २०११ देखि १३ सम्म एनआरएनए युकेको अध्यक्ष हुँदै सन् २०१३ देखि १५ सम्म अन्तराष्ट्रिय समन्यवय समितिको सदस्य भएका उनले कल्याणकारी तथा मानवीय सहायता टास्कफोर्सको सहसंयोजकको जिम्मेवारी निर्वाह गर्दै गरे।

त्यस्तै सन् २०१५ देखि १७ सम्म एनआरएनए यूकेको संयोजकमा सर्बसम्मत निर्वाचित भएका आचार्य सन् २०१७ देखि १९ सम्मका लागि संघको केन्द्रिय यपाध्यक्षमा निर्वाचित भएका हुन्। विदेशमा गएदेखि आफूले पहिलो पटक रोेजेको संस्था नै एनआरएन भएको उनी बताउँछन्।

संस्थाको नेतृत्व सम्हाल्ने अपेक्षा

संस्थाले अंगिकार गरेका कुरा र संस्थाले अघि सारेका योजनालाई दत्त सिपाहीका रुपमा पालना गर्नु नै आफ्नो पहिलो कर्तव्य रहेको उनी बताउछन्। जसरी एनआरएनएलाई प्रवासी नेपालीको बलियो संस्थाका रुपमा हेरिएको छ। त्यसलाई मजबूत बनाउने प्रयास हाम्रो जारी नै छ। पहिले संस्था बलियो भयो भने मात्र काम राम्रो हुने हो, उनले भने, त्यसका लागि विभिन्न सभा, सेमिनारमा पुगेर यस संस्थाका भावी कार्ययोजनाका बारेमा छलफल गर्नु त छँदैछ। त्यसबाहेक नेपालको विकासका लागि पनि हामीले विभिन्न योजना ल्याएका छौँ।

अहिले कमिटीमा बसेर काम गरिरहेका उनले भोलिका दिनमा संस्थाको नेतृत्व सम्हाल्ने मनसाय पनि राखेको बताए। यस संस्थालाई बलियो बनाउने काममा म सक्रिय नै छु। सकेसम्म कसरी यस संस्थाबाट नेपालको समृद्धीमा सहयोग पुर्याउन सकिन्छ भन्ने प्रयास जारी छ। नेतृत्वको जिम्मेवारी पाए भने अझ बढी काम गर्ने मौका मिल्ने थियो, डिसी नेपालसँगको कुराकानीमा उनले भने। आफूँ व्यक्तिगत भन्दा पनि संस्थागत एजेण्डा बोकेर अघि बढ्ने भएकाले यसका लागि संस्थागत एजेण्टा अघि सार्ने उनको भनाइ छ। चुनावी प्रचार भन्दा पनि कामलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता बोकेका आचायले विगतका कामको मूल्यांकन गरेर सबैले यसमा साथ दिने अपेक्षा राख्छन्।

नेपालको विकासका लागि सरकारको सहयोग

पहिलो पुस्ताका नेपाली दुखले विदेशिएको बताउँदै उनले त्यहाँ गएर केही सिक्ने मौका मिलेको सुनाए। उनले भने, त्यहाँ सिकेका कुरा नेपालको विकासका लागि उपयोग गर्न एनआरएनएले चाहेको छ। यसको कार्यान्वयनका लागि नेपाल सरकारको सहयोग आवश्यक छ। एनआएनले काम गर्न चाहेपनि नेपालको सिस्टम झन्जटिलो हुँदा सोचेजस्तो काम हुन नसकेको बताउँछन्।

ठुल्ठुला कुरा भन्दा साना साना कामले देश विकास हुन्छ

नेपालमा कुरा ठुला ठुला गर्ने तर काम भने नगर्ने परिपाटी पूरानै हो। ठूला कुरा गरेर हुँदैन् साना साना कामबाट नै देशको विकास हुन्छ। उनले थप्दै भने, हामीले नेपालमा केही गर्न चाहन्छौँ, तर सरकारले त्यस्तो वातावरण बनाइदिन सकेको छैन्। कुनै सानो काम गर्नका लागि काम भन्दा ठूलो नियमको पालना गर्नुपर्छ, त्यसो हुँदा समय बढी, काम थोरै हुने गर्दछ।

सरकारले काम गर्ने वातावरण मिलाइदिए मात्र एनआरएनएले नेपालमा धेरै विकासका काम गर्न सक्ने उनको भनाइ छ।