‘गुण्डाहरुको जरै उखेलेर नष्ट गर्छौँ’ : आईजीपी खनाल
वि.सं.२०७५ माघ ६ आइतवार १२:३७
shares

काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले कानुनले दिएको अधिकार निर्भिकतापूर्वक प्रयोग गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको नागरिक सहायता कक्षको नवनिर्मित भवन उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् । प्रहरी र समुदायको सहकार्यबाटै समाजलाई भयरहित र सुरक्षित बनाउन सकिने बताउँदै खनालले जनताको सहयोग लिएर अगाडि बढ्न सुझाव दिए ।
संसारमै नेपाल प्रहरीको काम उदाहरणीय भएको आईजीपी खनालले दोहोर्याए । ‘‘नेपाल प्रहरी जनताको प्रहरी हो । यसले मानवअधिकारको संरक्षण गर्दै समुदायसँगै मिलेर समुदायकै हितमा काम गर्छ । हाम्रा हरेक कामहरु हामीले पारदर्शी बनाउन खोजेका छौं । काम गर्दा हाम्रा कमजोरी भए निर्धक्क भएर जनताले गुनासो गरे हुन्छ,’’ आईजीपी खनालले भने ।
प्रमाणमुखी अनुसन्धान गर्न निर्देशन दिँदै खनालले उपलब्ध भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । खनालले भने, ‘‘विगतमा प्रहरीले यति रकम खायो भन्ने सुनिन्थ्यो । तर अब दुई रुपैयाँ पनि घुस खाएको सुन्न नपरोस् । आफ्नो दायित्व र जिम्मेवारी बिर्सनेलाई छुट हुँदैन ।’’
खनालले अपराध न्यूनीकरण गर्न प्रहरी सफल भएको दाबी गर्दै गुण्डाहरुको जरै उखेलेर नष्ट गर्न अधिकारीहरुलाई निर्देशन दिए । नेपाल प्रहरीले अघि सारेको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हँुदै गएको आईजीपी खनालले बताए । नेपाल बंगलादेश बैंकको सहयोगमा १९ लाख ५० हजारको लागतमा नागरिक सहायता कक्ष निर्माण भएको हो । सहायता कक्षमा सेवाग्राहीका लागि फ्रि-वाइफाइ, टेलिभिजन, चिसो–तातो पानी, निःशुल्क आवेदन फारम राखिनेछ । सहायता कक्षमा ७५ जनासम्म सेवाग्राही बस्न सक्नेछन् ।































