सोलुखुम्बुमा हिमपातले सडकदेखि हवाई उडान समेत ठप्प

4.38K
shares

काठमाडौँ । हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्याधिक चिसो महसुस गरिएको छ । २ दिन देखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रामा सञ्चालन भइरहेको छ ।

सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनौं जीप तथा मालवाहक ट्रकसमेत पत्तालेमा रोकिएका छन् । सवारी सञ्चालन हुन नसक्दा यात्रु भने अलपत्र परेका छन् ।

केही यात्रु भने हिँडेरै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका छन्”, सवारी चालक कृष्ण कार्कीले भन्नुभयो, “अहिले पनि वर्षातसँगै हिउँ परिरहेको जसले गर्दा सवारी चलाउन सकिने अवस्था नै छैन । कार्कीका अनुसार मौसममा राम्रो सुधार नआएसम्म सवारी आवगमनमा समस्या हुनेछ ।

सोलुखुम्बुबाट काठमाडौं हिँडेका अधिकांश यात्रु पत्तालेमा रहेका छन् । सडक अवरुद्ध भएसँगै बालबालिका तथा वृद्धवृद्धा यात्रु भने बढी प्रभावित भएको स्थानीय भाइचुङ शेर्पाले बताउनुभयो । “अहिले हिउँ करीब एक फिट बढी जम्मा भएको छ”, शेर्पाले भन्नुभयो, “हिउँपर्नेक्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवायुवती भने हिउँसँग रमाइरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083