अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर शुभारम्भ, ६ महिनामा डीपीआर सक्ने लक्ष्य

4.64K
shares

चितवन । भरतपुर महानगरपालिका निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर शुभारम्भ भएको छ । भरतपुर महानगरपालिकामा आज भएको एक कार्यक्रमकाबीच डीपीआर शुभारम्भ तथा जिल्ला घोषणा भएको थियो ।

साथै, गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको स्थापना हुन लागेको खुसीयालीमा भरतपुर महानगरमा वृहत नागरिक र्यालीको आयोजना गरिएको थियो । बिहान ११ बजे भरतपुरको चौविसकोठीवाट शुरु भएको नागरिक र्यालीमा महानगर प्रमुख रेणु दाहाल र धुर्मुस सुन्तली फउण्डेसनका सिताराम कट्टेल ‘धुर्मस’ कुञ्जना घिमिरे सुन्तलीको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय झण्डा सहित हजारौं सर्वसाधरणको उपस्थितिमा भएको र्याली भरतपुरको चौविसकोठीवाट, मङ्गलपुर बजार, १६ नम्वर वडा कार्यालय हुदैं रंगशाला निर्माण स्थल पुगेको थियो ।

र्याली पछि आयोजित रंगशालाको जिल्ला घोषणा र डिपिआर शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सिताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बन्ने रंगशाला नेपालको गौरव भएको बताए । उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रंगशाला महत्वपूर्ण हुने र तोकेकै समयमा रंगशाला निर्माण सम्पन्न गर्ने दावी गरे । फाउन्डेसनका अध्यक्ष धुर्मुसले आजको मितिबाट ६ महिनाभित्र डीपीआर सक्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा नेकपाका नेता नारायण दाहालले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न चितवनका राजनैतिक दलहरु सक्रियताका साथ लाग्ने बताए । उनले देशका विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरे । नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ रंगशाला निर्माणका लागि काँग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कांग्रेस प्रतिपक्ष दल भएपनि विकास निर्माणमा सधै हातेमालो गर्ने बताए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनसंग सम्झौता भएपछि उत्साहित भएको बताए । उनले रंगशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा पनि दाताहरुले सहयोगको घोषणा गरेका छन् । र्यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । केही दिन अघि रंगशाला भरतपुरमा निर्माणको लागि भरतपुर महानगरपािलका र धुर्मस सुन्तली फाउण्डेसनबीच सम्झौता भएको थियो ।

रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ ।

रंगशालामा ४ गेट रहने छन । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ । अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083