भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्धिपक्षीय छलफल

4.21K
shares

काठमाडौँ । सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्धिपक्षीय छलफल गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न सरकारले रणनीति तय गरी भारतसँग आवश्यक छलफल गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत व्यापार सन्धिः चुनौति र अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन भन्सार नाकाहरुमा सबै खालको सुविधा उपलब्ध गराउने प्रयास भईरहेको पनि स्पष्ट पारे। सचिव अधिकारीले दुई मुलुकबीचको व्यापारमा देखिएको समस्या समाधानका लागि आवश्यक सुझाव दिन विज्ञहरुलाई पनि आग्रह गरे।

सरकारले भारतसँगको व्यापार घाटा कम गर्न आवश्यक रणनीति बनाउने तयारी गरिरहेको पनि सचिव अधिकारीको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाली बस्तुको भारत निर्यात गर्न सहज वातावरण बनाई दिन सरकारसँग आग्रह गरे। उनले भारतीय बस्तु नेपालमा सहज ढंगले आउने तर नेपाली बस्तु भारतमा जान नसक्ने अवस्थाको अन्त्य नभएसम्म भारतसँगको व्यापार घाटा कम गर्न नसकिने पनि स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सार नाकाहरुमा सबै खालको सुविधाको व्यवस्था नगरेसम्म नेपालको व्यापार घाटा कम हुन नसक्ने स्पष्ट पारे। उनले भारतसँगको व्यापार घाटा कम गर्न भन्सार नाकाहरुलाई सुविधा सम्पन्न बनाउन पनि सरकारसँग माग गरे। महासंघले गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको व्यवस्था सबै भन्सार नाकाहरुमा गर्न पनि सरकारसँग आग्रह गर्दै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083