टेलिकमको फोरजी सेवा विस्तार रोक्न संसदीय समितिले धम्क्याउने गरेको संचारमन्त्रीको आरोप
वि.सं.२०७५ माघ २२ मंगलवार १६:१७
shares

काठमाडौं। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन्। मन्त्री बास्कोटाले ६ वटाभन्दा बढी संसदीय समितिले फोरजी सेवा संचालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश व्यक्त गरे। उनले नेपाल टेलिकमको फोरजी सेवा संचालन गर्न नदिएर कसको सेवा गर्न खोजेको भन्दै संसदीय समितिलाई प्रश्न गरे।
फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी दिए। मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले रातिराति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गरे।
मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए। मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिए। मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाइ छ ।




























