आज संसदमा गृहमन्त्री थापाको घाँटी समाउने यस्तो छ काँग्रेसको योजना
वि.सं.२०७५ माघ २३ बुधवार १२:१०
shares

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणका विषयमा सांसदले आज (बुधबार) गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्ने भएका छन्।दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री थापासँगको प्रश्नोत्तर गर्ने कार्यसूची छ। कांग्रेसका तीन र नेकपाका एक सांसदले संसद् सचिवालयमा प्रश्न दर्ता गराएका छन्। कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा प्रश्न दर्ता गराएकी छन्। जसको जवाफ आज गृहमन्त्री थापाले दिनुपर्ने भएको हो।
कांग्रेसकै अर्का सांसद देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालक निशान खडकाको अपहरणपछि हत्या गर्ने दुई जनाको प्रहरीले गरेको ‘इन्काउन्टर’ बारे प्रश्न राखेका छन्। अछामका कांग्रेस सांसद रामबहादुर विष्टले आफ्नो जिल्लाका नमराज विष्टको हत्यारा पत्ता नलाग्नुको कारण गृहमन्त्रीसमक्ष माग्दैछन्।सत्ता पक्षकै सांसद घनश्याम खतिवडाले मोरङको लेटाङमा पानीमा विषादी मिसाउनेलाई कारबाही कहाँ पुग्यो भनी प्रश्न दर्ता गराएका छन्।
प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन्।मन्त्रीहरूले रोस्ट्रममै गएर तिनको जवाफ दिनुपर्छ । सचिवालयका अनुसार चार मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सांसद सरिता न्यौपानेले हिंसापीडित महिला आवासगृह सातै प्रदेशमा बनाउने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न राखेकी छन्। अर्थमन्त्री युवराज खतिवडाले दुईवटा प्रश्नको जवाफ दिँदैछन्। कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा बैंक शाखा विस्तार र संग्रौलाले बढी सामान बेच्नेलाई विदेश घुमाउने बहुराष्ट्रिय कम्पनीको प्याकेजले नेपाली मुद्रा बाहिरिएको भन्दै त्यसलाई रोक्ने योजनाबारे प्रश्न राख्नेछिन्।
नेकपा सांसद खगराज अधिकारीले वनमन्त्री शक्ति बस्नेतलाई कास्कीमा प्राणी उड्डयन बनाउने काम कहाँ पुग्यो भनी प्रश्न राखेको सचिवालयले जनाएको छ । नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेका छन्। तीमध्ये ४३ को जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन् ।




























