‘नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली हुनुपर्छ’ : डा. भट्टराई
वि.सं.२०७५ माघ २३ बुधवार १२:२२
shares

रामेछाप। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गरेका छन्।
जनसंवाद अभियान अन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा. भट्टराईले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताए। उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक भएको उल्लेख गरेका थिए।
राज्यसत्ता चुनाव गर्ने र बीचका बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेकाले त्यसबाट बाहिर निस्कन पुरानो संरचना तोड्नु पर्ने उनको भनाई थियो।
भट्टराई जनसंवाद अभियान अन्तर्गत पूर्व पाँचथरको चिवा भञ्ज्याङ देखि मध्यपहाडी लोकमार्ग हुँदै नवौँ दिनका दिन रामेछाप पुगेका हुन्। एक महीने अभियानमा निस्किएका भट्टराई बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ।




























