पाँच महिनामा १० प्रतिशत विद्युत् चुहावट नियन्त्रण, ७ अर्व रुपैयाँ थप आम्दानी
वि.सं.२०७५ माघ २३ बुधवार १२:४०
shares

काठमाडौं । २०७/७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १० प्रतिशतले घटेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत चुहावट २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा झार्न सफल भएको जनाएको हो । गत आर्थिक वर्ष २०७४र७५मा औसत २०.४५ प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको थियो ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गर्नेछ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । विद्युत चुहावट नियन्त्रणका लागि खटिएका कर्मचारीले कुटाई समेत खाएको घिसिङले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक वेथिती नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्ने लगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् ।

प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सबैभन्दा बढी राजश्व संकलन गर्ने काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकोमा चालु आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशतमा सीमित भएको छ । क्षेत्रीय कार्यालय अन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्ष अघि करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर १३.७२ प्रतिशतमा झरेको छ ।
लगनखेल वितरण केन्द्रको दुई वर्ष अघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६.४१मा सीमित भएको प्राधिकरणको तथ्याङ्क छ । दोस्रो बढी राजश्व संकलन गर्ने हेटौडा क्षेत्रीय कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकोमा घटेर ६.६६ प्रतिशतमा झरेको छ । औद्योगिक ग्राहक रहेको विरगंज र सिमरा र हेटौडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य गिरावट आएको हो ।
दुई वर्ष अघि झण्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको छ । विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकोमा घटेर ११.६१ प्रतिशतमा झरेको छ । यसैगरि,१४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशतमा झरेको छ ।
पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकोमा घटेर ८.६१ प्रतिशतमा सीमित राख्न प्राधिकरण सफल भएको छ । जनकपुर, नेपालगंज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट क्रमशः ३४.३६,१५.८४ र १५.२९ प्रतिशत रहेकोमा घटेर २६.२४,९.७२ र १२.१९ प्रतिशतमा झरेको छ ।




























