कुलमानको अर्को कदम : तारलाई भूमिगत, वितरण प्रणालीलाई स्वचालित
वि.सं.२०७५ फागुन १२ आइतवार १४:०२
shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा रहेका बिजुलीका तारलाई भूमिगत र वितरण प्रणालीलाई स्वचालित बनाउने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले त्यसका लागि निर्माण कम्पनी छनौट भएको जानकारी दिए। प्राधिरणले यसको शुरुआत महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रबाट गर्दैछ। दुवै केन्द्रअन्तर्गतका विद्युत्का तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रस्ट्रिज लिमिटेड छनोट भएको हो।
कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करबाहेक दुई करोड ५५ लाख ८१ अमेरिकी डलर (एक अर्ब एक करोड ७० लाख रुपैयाँ) मा ठेक्का सम्झौता हुने छ। कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम दुई करोड २९ लाख डलर (८३ करोड १५ लाख रुपैयाँ) मा गर्ने छ।
मध्य तथा उत्तर काठमाडौं (महाराजगंज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए। पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गंगबु, सामाखुसीलगायतका महाराजगंज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो।




























