एनसेल आक्रमणको जिम्मा विप्लवको पार्टीले लियो
वि.सं.२०७५ फागुन १२ आइतवार १४:२८
shares

काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि गरिएको आक्रमणको जिम्मेवारी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ। शुक्रबार राति ललितपुरमा रहेको नख्खुको मुख्यालय लगायत देशभरका एनसेल टावरमा गरिएको बम हमलाको विप्लव पार्टीले जिम्मा लिएको हो।
एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छली गरेको, नेपालमा लगानी नगरेर विदेश लगेको, अदालतले गरेको निर्णयहरु पालना नगरेको जस्ता आरोप नेकपाले एनसेलमाथि लगाएको छ। विशेषगरी कर छली गरेको भन्दै विप्लवले ‘जनकारवाही स्वरुप’ एनसेलमाथी कारवाही गरिएको विप्लव नेकपाको दाबी छ।
नेकपाले नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई प्रलोभवनमा पारेर तथा कर्मचारी खरिद गरेर एनसेलले ग्राहकको संख्या बढाएको पनि आरोप लगाएको छ। नेकपाले एससेलमाथि बेला बेला आक्रमण गर्दै आएको थियो।
फाुगन १० गते राति देशभरका विभिन्न स्थानमा आक्रमण गरिँदा मानवीय क्षति पुगेको भन्दै नेकपाले माफी मागेको छ। ललितपुरमा दुःखद् घटना भएको भन्दै नेकपाले माफी मागेको हो। उक्त घटना पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र उक्त दुर्घटनामा पार्टीपङ्क्ति दुखित भएको नेकपाले जनाएको छ। नेकपा स्रोतका अनुसार उक्त घटनापछि पनि एनसेल सचेत नभए अर्को आक्रमण हुन सक्ने चेतावनी दिएको छ।





























