वाइडबडी प्रकरण : अख्तियारको नजरमा ‘देउवा’ र मन्त्रि ‘अधिकारी’
वि.सं.२०७५ फागुन १२ आइतवार १४:३१
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बायु सेवा निगमका लागि खरिद गरिएका एयरबस जहाजका विषयमा अनुसन्धान थालेको जनाएको छ। अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले खरिद प्रक्रियामा जोडिएका सबैसँग अख्तियारले बयान लिने क्रम जारी रहेको र प्रमाण संकलनको काम पनि भइरहेको बताए।
उनले वाइडबडी जहाजका विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। साथै उनले पछिल्लो समय घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकलाई पनि नछाड्ने संकेत गरेका छन्। उनले अख्तियारले संवैधानिक निकायका पदाधिकारीमाथि अनुसन्धान गर्ने अख्तियारी नपाएको भए पनि महान्यायाधीवक्ता अग्नी खरेलसँग सहकार्य गरेर पाठकलाई अनुसन्धानको दायरामा ल्याइएको बताएका छन्। संघीय संसद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताए।
‘बयान लिने काम चलिरहेको छ, अहिलेलाई अख्तियारले विस्तृत अनुसन्धान थालेको छ भनेर बुझ्नुहोस्,’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहान्न।’ उनले खरिदमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको बताए। खरिद प्रकरणमा जोडिएका सबैजना अनुसन्धानमा तानिएमा पूर्व पर्यटनमन्त्रीहरू सहित बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि समेटिने छन्।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेलामा वाइडबडीका लागि पहिलो किस्ता निकासा भएकाले यो प्रकरणमा देउवा पनि जोडिने छन्। प्रमुख आयुक्त घिमिरेले आयुक्त पाठकको विषयले आफूहरु चिन्तित भएको पनि बताए। ‘संस्थाको जीवन हुन्छ। उतार-चढाव हुन्छ। घटना पनि हुन्छन्,’ उनले भने, ‘पाठकजीको विषयलाई घटनाको रुपमा लिएका छौं।’
साथै उनले पाठकमाथि अख्तियारका सह-सचिवको नेतृत्वमा अनुसन्धान भइरहेको पनि बताए। ‘कानुनी रुपमा संवैधानिक आयोगका व्यक्तिहरु माथि अनुसन्धान गर्न सक्ने भनेर स्पष्ट रुपमा लेखेको छैन,’ उनले भने, ‘तर नयाँ व्यवस्था बमोजिम महान्यायाधीवक्ता सँग छलफल गरेर अनुसन्धान अघि बढाएका छौँ।’ उनले अख्तियारमा रहेको वा बाहिरको व्यक्तिले भ्रष्टाचारबाट मुक्ति पाउन नहुने पनि स्पष्ट पारे।
उनले भ्रटाचार नियन्त्रण र सुशासन आयोगको एक मात्रै एजेन्डा भएको पनि बताए। तारागाउँको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको उनले बताए। पोखरामा पनि सरकारी जग्गा व्यक्तिको नाममा भएको विषयमा पछि छानबिन भइरहेको उनले बताए।
अख्तियारका सचिव महेश्वर न्यौपानेले अख्तियारका काम र कर्तब्यका विषयमा बैठकमा जानकारी गराएका थिए। सांसदहरु महेश महरा, विमला राई, सरिता प्रसाईं, खिमकुमार विक, कालिबहादुर मल्ल लगायतले अख्तियारमा भइरहेका काम कारबाही र पछिल्ला घटनाका विषयमा प्रश्न गरेका थिए।




















