प्रधानन्यायाधीश राणाको अर्को एक्सन : विवादास्पद ३ न्यायाधीशको सरुवा!
वि.सं.२०७५ फागुन १३ सोमवार १७:१५
shares

काठमाडौं। विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको सरुवा भएको छ। प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेका हुन्।
न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दा हेर्ने तीन न्यायाधीशलाई सरुवा गरेका न्यायपरिषद्ले जनाएको छ। ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो।
उनीहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको जस्ता उजुरी प्रधानन्यायाधीश राणा समक्ष परेपछि उनीहरुको अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विशेष अदालतमा न्यायाधीश नियुक्त भएका थिए।
प्रधानन्यायाधीशको नेतृत्व सम्हाले लगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै न्यायाधीशहरुको सरुवा र छानबिन गरिरहेका छन्। प्रधानन्यायाधीशमा नियुक्त भएको केही दिनमै राणाले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश सहित केही न्यायाधीशको छानबिन गरिरहेका बताइएको छ।




























