सन् २०१९ लाई नेपाल प्रवर्द्धन वर्षको रुपमा मनाउने एनआरएनएको घोषणा
वि.सं.२०७५ फागुन १५ बुधवार १३:२७
shares

काठमाडौं। गैर-आवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’ को रुपमा मनाउने घोषणा गरेको छ। सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पुर्याउने उद्देश्यका साथ एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’ को रुपमा मनाउने घोषणा गरेको हो।
सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई पूरा गराउन सहयोग गर्न सन् २०१९ लाई नेपाल वर्षको रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो प्रवद्र्धन वर्षलाई सफल बनाउन आफ्नै अध्यक्षतामा २ सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको पनि बताए।
मूल समारोह समितिले ८० वटा भन्दा बढि देशमा रहेका नेटवर्कलाई प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्रयाउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ।
अध्यक्ष भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजनाका साथ नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरिएको पनि स्पष्ट पारे। नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ।































