डिलाशैनीमा ११ दिनका लागि ‘लकडाउन’

6.19K
shares

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार (आज)देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ ।

गाउँपालिकाका थप छजनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका बताउनुभयो ।

यही मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी–साधन सञ्चालनमा रोक लगाइनुका साथै गाउँपालिकाका सातओटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

पछिल्लो समय डिलाशैनीमा समुदायस्तरमै कोरोना फैलिएको शंका गरिएको छ ।

यसअघि, जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ ।

बैतडीमा हालसम्म ५६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ४९९ जनाले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

रेडक्रसका सेवा बन्द

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाले मङ्सिर २२ गतेसम्मका लागि लकडाउन गरेकाले सोही दिनसम्म रेडक्रसले शाखामार्फत दिइने सेवा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रेडक्रस बैतडीले एक सूचना जारी गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको हो ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । आफूमा समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएकाले अहिले आफू आइसोलेसनमा बसिरहेको उहाँले बताउनुभयो । पछिल्लो एक हप्ता सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न उहाँले आग्रह गर्नुभएको छ ।