अब प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू’ भन्नैपर्ने!
वि.सं.२०७७ मंसिर १७ बुधवार ११:४४
shares

प्रहरीले स्याङ्जामा नयाँ अभियान चलाएको छ । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नौलो अभियान शुरु गरेका छन् ।
परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जान्छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै यस्तो अभियान लगाएको एसपी बोगटीले जानकारी दिए ।
बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान शुरु गरिएको छ ।
यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उनले बताए ।
उनका अनुसार महिनैपिच्छे दुई दिन बिदामा घर जान पाइने र घर टाढा हुनेले बढीमा ६ महिनामा घर बिदामा जानैपर्ने, एकमुष्ट ६ महिनामा जाँदा १८ दिन बिदा पाइने पनि उनको भनाइ छ ।
पारिवारिक सम्बन्ध राम्रो नहुँदा हातहतियार आफैसँग हुने प्रहरीहरुले ती यन्त्र आफैमाथि प्रयोग गरेका समाचार कहिलेकाहीं सुनिने गरिन्छ । पारिवारिक सम्बन्धका कारण प्रहरी जवानहरुले आत्महत्या गर्ने प्रवृत्ति पनि रोकिएर जाने उनले बताए ।















