राणाविरुद्ध लडेका पासवानको निधन, श्रद्धाञ्जलि दिन हेलिकप्टरमा धनुषा पुगे निधि

२०७५ कात्तिक २६ सोमवार
1.2K
shares
जनकपुरधाम । राणा शासनविरुद्ध भएको आन्दोलनमा सहभागी नेपाली कांग्रेसका नेता सोनेलाल पासवानको निधन भएको छ ।
पासवानको १ सय ६ वर्षको उमेरमा सोमबार बिहान ३ बजे निधन भएको हो । धनुषाको नगराईन नगरपालिका–९ घोरघास गाउँमा उनलाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, मिनाक्षी झा, प्रदेश संसदीय दलका नेता रामसरोज यादव, कांग्रेस धनुषाका सभापति महेशशंकर गिरि लगायतका नेताहरू पुगेका थिए । निधिसहित सबै नेताले पासवानको शवमा नेपाली कांग्रेसको झण्डा ओढाएका थिए ।
‘नेपाली कांग्रेसको अगुवाइमा भएको राणाशासन विरुद्धको क्रान्तिमा लागेका पुस्तामध्येका एक नेता पासवानको निधनले देश र नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको छ,’ झण्डा ओढाएर निधिले भने, ‘उहाँको लगाव मेरो पिता स्वर्गीय महेन्द्रनारायण निधिसँग रहेकाले पनि उहाँलाई म लगायत मेरा पुस्ताका कांग्रेसका नेताहरूले अभिभावक सरह नै मान्थ्यौं ।’
लोकतन्त्र प्राप्तिप्रति पासवानको समर्पण र योगदानलाई प्रेरणाको रूपमा लिने बताउँदै निधिले सपना साकार गराउनेतर्फ प्रयास रहने बताए । पासवानलाई अन्तिम श्रद्धाञ्जलि दिन निधि काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर घोरघास पुगेका थिए । पासवानका २ छोरा महेन्द्र र जोगेन्द्र छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै उनी २००७ सालको क्रान्तिमा लागेका थिए । महेन्द्रनारायण निधि, रामनारायण मिश्र र महावीर शर्मासँग क्रान्तिमा होमिएका पासवान पटक–पटक गरी ६ वर्षसम्म महोत्तरीको जलेश्वर र सिन्धुली कारागारमा जेल समेत गएका थिए । निर्वासित जीवनको क्रममा भारतको बिहारस्थित पिपरौन, हर्लाखी, उभगाउँ लगायतका क्याम्पमा रहेका थिए ।
प्रजान्तान्त्रिक सेनानी समेत रहेका पासवानलाई काठमाडौंमा गणेशमानसिंह प्रतिष्ठानले सम्मान गर्नुका साथै स्थानीय स्तरमा समेत कांग्रेसले उनलाई सम्मान गरेको थियो । राणा शासनबाहेक पञ्चायती व्यवस्था, प्रजातान्त्रिक आन्दोलनदेखि २०६२ सालको जनआन्दोलनमा पनि उनी सहभागी भएर देशमा लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान पुर्याएका थिए । पासवान साइकल चढेर पार्टीको सबै कार्यक्रममा जाने गरेको पार्टी सभापति महेशशंकर गिरीले बताए । उनी आयुर्वेद समेत सिकेका कारण आयुर्वेद चिकित्सा गर्ने क्रममा धनुषा र महोत्तरीको विभिन्न गाउँमा उपचार सँगसँगै कांग्रेसको संगठन निर्माण गर्ने काममा समेत लागेका थिए ।
‘पार्टीमा ठूलो योगदान गरेको भएपनि उहाँ कहिल्यै पनि कुनै पद वा राजनीतिक अवसर प्राप्तिका लागि लालायीत हुनुभएन । न त उहाँले कुनै इच्छा नै व्यक्त गर्नुभयो,’ पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले भने ।

२०७५ कात्तिक २६ सोमवार