पूर्वप्रम नेपालसँग कोरियाली राजदूतको बिदाइ भेट
वि.सं.२०७५ कात्तिक २८ बुधवार १३:४३
shares

काठमाडौं । नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत महामहिम किम योङ्ग हाकले बुधवार नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बिदाइ भेट गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल तथा कोरियाको मित्रवत् सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
आफू ४ वर्ष ९ महिना नेपालमा बस्दा यहाँको राजनीतिक नेतृत्व र नेपाली जनतालाई मैत्रीपूर्ण तथा हार्दिक पाएको उल्लेख गर्दै राजदूत हाकले आफ्नो देशसँगको सम्बन्धलाई महत्त्व दिएर विगतमा भ्रमण गर्नुका साथै आफूहरूलाई हरदम सहयोग उपलब्ध गराएकोमा पूर्वप्रधानमन्त्री नेपालप्रति आभार व्यक्त गरे ।
‘हाम्रो सुख–दुःखमा सधैँ साथ दिनुभएकोमा आत्मीयता बोकेर फर्किंदैछु,’ उनले भने, ‘मलाई विश्वास छ, यो सधैं कायम रहनेछ ।’ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालले स्थायित्व र समृद्धि हासिल गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीले समाजवादी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ महत्त्व दिँदै आएको उल्लेख गर्दै आफ्नो कोरिया भ्रमणका बेलामा प्रतिकूल अवस्था रहे पनि अहिले कोरियाली प्रायद्वीपमा शान्तिका लागि प्रयास भएकोमा प्रशन्नता व्यक्त गर्दै त्यसले सफलता पाउने विश्वास व्यक्त गरे ।






























