नेविसंघको कार्यकाल दुई महिना थप
वि.सं.२०७५ मंसिर ४ मंगलवार १२:२४
shares

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो। पार्टीका शीर्ष नेताको असहमतिका बीच बैठकले संघको विधानलाई संशोधन गरी नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको आयु दुई महिना बढाएको छ।
संघको विधानको धारा २६ ले केन्द्रीय समितिको कार्यकाल दुई वर्ष तोकेको छ। उक्त अवधिमा महाधिवेशन गर्न नसके थप ३ महिना समय लिनसक्ने व्यवस्था छ । ३ महिना अतिरिक्त समय लिनसक्ने संघको विधानको व्यवस्थालाई बैठकले संशोधन गरेर ५ महिना बनाएको केन्द्रीय सदस्य गुररुराज घिमिरेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय समितिले संघको नयाँ संविधान पनि पारित गरेको छ।
‘पार्टीले यसअघि नै नेवि संघमा ३२ वर्षे लागु गरिसकेको छ,’ घिमिरेले भने, ‘संघको पुरै विधान पारित गर्दै पार्टी केन्द्रीय समितिले दुई महिना कार्यकाल पनि थप गरेको छ। थपिएको दुई महिनामा पनि संघको महाधिवेशन सम्भव नरहेको जिकिर गर्दै नेता रामचन्द्र पौडेलले विधानको व्यवस्था अनुसारै अघि बढ्नुपर्ने तर्क गरेका थिए । विधान अनुसार सोमबारदेखि नेवि संघको वर्तमान कार्यसमिति स्वतः विघटन हुने व्यवस्था छ ।






























