पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

वि.सं.२०७५ मंसिर ४ मंगलवार १०:००
shares

काठमाडौँ । संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँ भन्दा बढीका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको हो । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँ माथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो । स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । २३ वटा गाडी, ३० वटा मोटरसाइकल र ४३ थान कम्प्युटरका लागि अर्थसँग २२ करोड रुपैयाँ बजेट माग गरेको सचिवालयले जनाएको छ ।
अर्थले भने अहिलेसम्म जबाफ पठाएको छैन । संसद् सचिवालयले एक महिना अघि नै अर्थलाई पत्र पठाए पनि अहिलेसम्म कुनै जानकारी नआएको सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए । पाण्डेले भने, ‘२३ गाडी, ३० मोटरसाइकल र ४३ कम्प्युटर खरिदका लागि अर्थसँग बजेट माग गरिएको छ । कतिपय गाडी पुराना र मर्मत गरिरहनुपर्ने अवस्थामा पुगेका छन् । ती गाडी समिति सभापतिलाई दिन सुरक्षाका हिसाबले पनि त्यति उचित हुँदैन ।