संविधानसँग बाझिएका २ सय कानून संशोधन गर्न सरकारलाई आग्रह
वि.सं.२०७५ मंसिर ११ मंगलवार १७:३२
shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आयोजित ‘ऐन कार्यान्वयनमापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठी’ को उदघाटनमा संविधानसँग बाँझिएका २०० कानून भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, “संविधानसँग बाँझिएका कानून एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ, २०० कानून संविधानसँग बाँझिएका छन्, छिटोभन्दा छिटो संसदमा आओस् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधानअनुसार बनेका नयाँ १२४ र पुराना ३३९ कानून नयाँ संविधान अनुसार संशोधन गर्नुपर्ने जरुरी भएको बताए ।
उनले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानून प्रभावकारी भए(नभएको अध्ययन गर्न जरुरी भएको उल्लेख गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समयअनुसार कानून निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानून लागू गर्न र अप्ठ्यारो परेर दबाब आए मात्रै कानून संशोधन गर्ने चलन सही नभएको बताए ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा कानून १८\२० चरण प्रक्रिया पार गरेर बनाउनुपर्ने भएको हुँदा कानून बनाउनु पूर्व नै समाजमा त्यो कानून उपयुक्त वा समयाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताए ।














