कति उठ्छ नेकपाको मासिक लेबी, कहाँ कहाँ हुन्छ खर्च

6.12K
shares

काठमाडौं । पाल कम्युनिस्ट पार्टी (नेकपा) मा विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले बुझाइरहेको लेवी अब एउटै संयुक्त खातामा बुझाउने भएका छन् । एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भएर नेकपा भएयता पनि ती दलका सांसदहरूले आआफ्नै पूर्व पार्टीमा लेवी बुझाउँदै आएका थिए ।

पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेकपाको संसदीय दलबाट एउटा संयुक्त खाता माग भएको छ, । खाता पठाउने वित्तिकै दलका सम्पूर्ण सांसदको लेवी एउटै खातामा जान्छ ।

पार्टीका शीर्ष नेतासँग पनि यस विषयमा छलफल भइरहेको बताउँदै गुरुङ्ले एकीकृत पार्टीको खाता चाँडै आउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु। १३ हजार र मन्त्रीले रु। १५ हजार लेबी बुझाउँदै आएका छन् ।

त्यस्तै, पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदले मासिक रु। १२ हजार र मन्त्रीले रु। १५ हजार बुझाउने गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो । एउटै खातामा जान थालेपछि लेबीमा पनि एकरूपता हुने सचेतक गुरुङले बताउनुभयो । सांसद तथा मन्त्रीको लेबी संसद् सचिवालयको लेखाबाट नै काटिन्छ ।

सचेतक गुरुङका अनुसार सांसदले पाउने मासिक तलब र अन्य सुविधा दिँदा संसद् सचिवालयको लेखा शाखाले लेबी काटेर दिने गरेको छ । त्यो लेबी पार्टीको खातामा जम्मा गर्ने गरिएको छ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि पार्टीले सांसदहरूको नामावली पठाएर तोकेको रकम अनुसार लेबी काट्न आग्रह गरेपछि लेखाले सोही अनुसार कटाएर दिने गरेको उहाँले जानकारी दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले लेबी एउटै खाता बनाउने प्रक्रिया शुरु भएको तर सङ्गठनको तल्लो तहसम्म एकीकरण टुङ्गो नलागेका कारण ढिलाइ भएको बताउनुभयो । “हाललाई छुट्टा छुट्टै खाताबाट कारोबार भइरहेको छ,’’ उहाँले भन्नुभयो, संयुक्त खाता चाँडै नै खुल्छ ।

पार्टीको तर्फबाट प्रधानमन्त्री, मन्त्री, सांसद, केन्द्रीय तहको राजनीतिक नियुक्ति, मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, प्रदेश तहको राजनीतिक नियुक्ति, विभिन्न तहका जनप्रतिनिधि र हरेक राजनीतिक नियुक्ति लिएका व्यक्तिले लेबी बुझाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ । पूर्वएमालेतर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १४८ सांसद छन् भने पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ६६ जना सांसद छन् । एकीकरणपछि नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कुल २१४ सांसद छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083