राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण सफल!

5.01K
shares

काठमाडौँ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ।

महिलाको अवस्था सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रबार सम्पन्न अमेरिकाको चार दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रहेको मानिएको छ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य तथा त्यस पछि सफलता पूर्वक सम्पन्न शान्ति प्रक्रिया लगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधानसभाद्वारा निर्मित संविधान जारी भए पछि नेपालमा मानव अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा भएका प्रगति तथा असल अभ्यास अन्तर्रा्ष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भ्रमण उपलब्धि मूलक भएको छ।

नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्वपूर्ण रहेको छ। विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ।

भ्रमणका क्रममा भएका द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताबाट नेपालको आर्थिक-सामाजिक विकासका विभिन्न क्षेत्रमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । राष्ट्रपतिको भ्रमणबाट राष्ट्रसङ्घका उच्च अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली, व्यापारिक समुदाय तथा नेपालका शुभचिन्तकसँगको भेटघाटले नेपालसँगको सम्बन्ध र परिचयलाई नवीकरण गर्ने सुअवसर प्राप्त भएको छ।

न्यूयोर्क बसाईका क्रममा राष्ट्रपतिबाट भएका भेटवार्ताले दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयका अतिरिक्त जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता र विश्वस्तरका साझा समस्या समाधानमा महिलाको भूमिकाका बारेमा छलफल गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ का बारेमा बताउने अवसरमात्र प्राप्त भएन अपितु नेपालको आर्थिक विकास र समृद्धिका लागि प्राथमिकताका क्षेत्रबारे अवगत गराउन पनि सहज भयो।

नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो पहिलो परिघटनाले महिला तथा बालबालिका सम्बन्धी क्षेत्रमा पछिल्ला वर्षमा नेपालले गरेका महत्वपूर्ण उपलब्धिको राम्रो मूल्याङ्कन गर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त हुनुलाई उपलब्धि ठान्नुपर्छ।

विश्वमा महिला राजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धि गुम्दै गएको उल्लेख भएको परिप्रेक्ष्यमा नेपालले महिला अधिकार, लैङ्गिक समानता लगायत मानव अधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि बढाउन भ्रमणबाट टेवा पुगेको नकार्न सकिदैँन।

लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक सङ्घर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा आफूले भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीको बारेमा स्पष्ट पार्नु, लैङ्गिक विभेद अप्राकृतिक भए पनि अपरिवर्तनीय नभएको अभिव्यक्ति दिएर समानता र लैङ्गिक विभेदको अन्त्यका लागि नेपालको दृढ प्रतिबद्धता प्रस्तुत हुनुले नेपालको गरिमा बढाएको छ।

लैङ्गिक समानताका लागि नेपालले गरेका प्रयास र त्यसबाट प्राप्त उपलब्धिका बारेमा प्रष्ट पार्नु तथा नेपालले सामना गर्नुपरेका चुनौतीका सन्दर्भमा महिला समानता तथा प्रतिनिधित्व बढाउन राजनीतिक संरचनागत परिवर्तनका लागि हस्तक्षेप गर्नु पर्ने धारणा व्यक्त गर्नुले नारी सशक्तीकरणको यात्रामा नेपाल इमानदारीका साथ अग्रसर भएको सन्देश अन्तर्राष्ट्रियस्तमा प्रवाह भएको छ। संवैधानिक, नीतिगत र कानूनी संरचनाको कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको अनुभवले विश्वका अन्य देशका महिला नेत्रीलाई नेपाल उदाहरण बनेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेट, नेपालले शान्ति सेना मार्फत विश्वशान्ति र स्थायित्वमा गरेको योगदान, दिगो विकास र विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घले हालै गरेका सुधारका काम तथा त्यसका प्राथमिकतामा छलफल, राष्ट्रसङ्घको सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता जलवायु परिवर्तनका असर घटाउने तथा अनुकूलनका लागि अल्प विकसित राष्ट्रबाट अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धिमा नेपालको अभिमत राष्ट्रपतिबाट प्रस्तुत हुनु नेपालका निम्ति गौरवको विषय हो। अन्तत : अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण सफल मानिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083