प्रभावित क्षेत्रमा उद्दार गर्न अनेरास्ववियु र (क्रान्तिकारी)को टोली खटिदै
वि.सं.२०७५ चैत १८ सोमवार १३:३३
shares


काठमाडौँ । आइतबार साँझ आएको आँधी हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेकोे र ६०० भन्दा बढी घाइते भएका छन्। घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्कि सकेका छन्। घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबै भन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगर लगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
आइतबार राती पर्साका अस्पतालहमा ६ जनाको शव आइपुगेको पर्सा प्रहरीले जानकारी दिएको थियो। यद्यपि, तीमध्ये अधिकांश छिमेकी बारा जिल्लाबाट ल्याइएको खुलेको छ। पर्सा जिल्लामा हालसम्म १ जनाको मात्र ज्यान गएको समाचार प्राप्त भएको छ।

विभिन्न संघ संस्थाहरु आँधीहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दारमा गर्ने कार्यमा सहभागीता जनाएर सहयो पुराउदै आएका छन्। अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त बैठक सोमबार विहान बस्दै अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष रन्जीत तामाङको नेतृत्वमा उपचारको लागि स्वास्थ्य टोली र बासको लागि आवश्यक सामाग्री सहित जाने निर्णय गरेको अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालले बताएका छन्।
अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुन आइतबार राती नै तराईको आँधीहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दारमा खटिएका छन्। आइतवार रातिसम्म काठमाडौंमै रहेका पुनले आँधीहुरीबाट ठूलो जनधनको क्षति भएको खबर पछि उनी सहितको टोली राति नै प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन्। सोमवार बिहानैबाट पुन लगायत उनको टोली उद्दारमा खटि रहेको छ।
हावा हुरीबाट बारा, पर्सा लगायतका जिल्लामा आइतबार राति भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं. २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय समेत गरिसकेको छ। साथै घाइतेको सबै खर्च समेत बेहोर्ने भएको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको छ। बैठकले घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय समेत गरेको हो।































